गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ८ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट ३४ हजार ९७ योगदानकर्ताले सात अर्ब ९० करोड रुपियाँ सापटी लिएका छन् ।
सामाजिक सुरक्षा कोषले बुधबार पत्रकार सम्मेलनमार्फत पछिल्ला तीन वर्षमा कोषका योजनामा योगदान गरेका योगदानकर्तामध्येबाट सबैभन्दा धेरै कर्जा तथा विशेष सापटी योजना अन्तर्गत ३४ हजार २० जनाले छ अर्ब ९० करोड सापटी लिएको जानकारी गराइएको हो ।
कोषका अनुसार घरकर्जा सापटी योजना अन्तर्गत ६७ योगदानकर्ताले १३ करोड र शैक्षिक कर्जा सापटी योजना अन्तर्गत १० योगदानकर्ताले एक करोड गरी ३४ हजार ९७ योगदानकर्तालाई सात अर्ब चार करोड भुक्तानी भएको छ । कोषले २०७९ भदौ २ देखि चार प्रकारका कर्जा तथा सापटी लिन थालेको थियो ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले योगदानकर्ताका लागि सहज गराउन एकै पटक चार प्रकारका कर्जा तथा सापटी योजना सुरु गरेको भए पनि सबैभन्दा धेरै विशेष सापटी योजना अन्तर्गत बढी कर्जा प्रवाह भएको जानकारी दिनुभयो । विशेष सापटी अन्य तीन वटा सापटीभन्दा सजिलो र ब्याजदर पनि सस्तो भएकाले योगदानकर्ताले बढी यही योजनालाई मन पराएको हुन सक्ने उहाँको बुझाइ छ । उहाँका अनुसार विशेष सापटी अन्तर्गत जम्मा भएको रकमको ८० प्रतिशतसम्म कोषको कार्यालय नआई अनलाइनमार्फत नै आवेदन दिएर लिन सकिने व्यवस्था रहेको छ । विशेष सापटी लिन ३६ महिनासम्म योगदान भएको हुनुपर्ने र अवकाश योजनामा न्यूनतम ६२ हजार पाँच सय रुपियाँ हुनुपर्ने र रोजगारीमा रहेको हुनुपर्ने कोषले जनाएको छ ।
यस्तै घरकर्जा तथा सापटी योजना अन्तर्गत करिब तीन वर्षको अवधिमा ६७ जनाले १३ करोड रुपियाँ वा १५ वर्षको तलब बराबर घर कर्जा सुविधा लिएका छन् । त्यस्तै ३५ लाख रुपियाँसम्मको शैक्षिक कर्जा पाउने व्यवस्था पनि छ जसमा अहिलेसम्म १० योगदानकर्ताले एक करोड रुपियाँ सापटी लिएका छन् ।
यस्तै पाँच लाखसम्मको सामाजिक कार्य (विवाह, व्रतबन्ध आदि) कर्जा सुविधा रहेकामा अहिलेसम्म कसैले नलिएको पनि कोषले जनाएको छ । कोषले घर सापटीका लागि धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी ७५ लाख रुपियाँ योगदानकर्ताको १५ वर्षको तलब, योगदानकर्ता साठी वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलबमध्ये जुन कम हुन्छ, सोही बराबरको सापटी योगदानकर्तालाई प्रदान गर्छ । पति र पत्नी दुवै जना योगदानकर्ता भएमा एउटै धितोबाट दुई जनाको नाममा सापटी हिसाब गर्दा सापटीको अधिकतम सीमा दुवै जनाको तलबमानका आधारमा अलग अलग कायम गरी सापटी प्रदान गर्न सकिने व्यवस्था छ ।
शैक्षिक सापटी प्रदान गर्दा योगदानकर्ता वा निजको पतिपत्नी, छोराछोरीमध्ये बढीमा दुई जनासम्मलाई धितो मूल्याङ्कनले थाम्ने यस्तो खालको कर्जा दिइने कोषले जनाएको छ ।
शैक्षिक सापटी प्रदान गर्न योगदानकर्ताको मागबमोजिम एकमुष्ट वा बढीमा चार किस्तामा भुक्तानी गर्न सकिने छ । योगदानर्ताले लिएको शैक्षिक सापटी चुक्ता गरेमा पुनः शैक्षिक सापटी प्रदान गर्न सकिने छ । शैक्षिक सापटीको पहिलो किस्ता लिएको अवधिको बढीमा १५ वर्षभित्र सापटी चुक्ता गर्नुपर्ने छ । कोषमा आव २०८१/८२ मा आठ लाख ८२ हजार ९४६ योगदानकर्ता थप भई हालसम्म २३ लाख ७४ हजार ४८६ जना आबद्ध भएका छन् । जसमा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने १७ लाख ७१ हजार ५३७ जना आबद्ध छन् भने औपचारिकतर्फ छ लाख एक हजार ८२५ जना आबद्ध भएका छन् । यस्तै स्वरोजगार र अनौपचारिकतर्फका एक हजार १२४ जना आबद्ध छन् । गएको आवमा कोषमा थप २५ अर्ब ३६ करोड योगदान रकम सङ्कलन भई हालसम्म कोषमा ८३ अर्ब ६५ करोड सङ्कलन भएको कोषले जनाएको छ ।