काठमाडौँ, साउन ७ गते। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयनका सन्दर्भमा आएका चुनौती समीक्षा गर्दै राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ।
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४३ औँ पुण्यस्मृति दिवसका सन्दर्भमा ‘जननायक बिपी कोइराला स्मृति ट्रस्ट’ले आयोजना गरेको कृति विमोचन समारोहलाई सम्बोधन गर्दै डा. यादवले संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयनका क्रममा कमजोरी भएको औँल्याउनुभएको हो।
उहाँले समानुपातिक, समावेशी, सङ्घीयतासहितको संविधान कार्यान्वयन प्रक्रियामा रहेका विषयलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी ठिक मार्गमा छौँ। देश गणतान्त्रिक व्यवस्थामा सही मार्गमा छ। तर शासन सञ्चालन गर्नेले सोच्नुपर्ने बेला हो यो। नेपालले अब कुनै प्रतिगमन देख्नु नपरोस्। विगतको सङ्घर्षपूर्ण इतिहास युवा पुस्तालाई बुझाउनै पर्छ।”
प्राडा. हरिप्रसाद पराजुलीद्वारा लिखित एवं सम्पादन रहेका ‘बिपी कोइरालाका दुर्लभ रचना’ र विश्वेश्वरप्रसाद कोइरालाका कथा र कथाकारिताको विश्लेषण र मूल्याङ्कन’ पुस्तक विमोचन गर्दै पूर्वराष्ट्रपति डा. यादवले राजनीतिक दलहरूले राणाशासन, पञ्चायत हुँदै १० वर्षे सशस्त्र जनयुद्धको स्मरण गरेर सुध्रिनुपर्ने बताउनुभयो।
‘राजावादी होइन, समाजवादी बिपी’
पूर्वराष्ट्रपति डा. यादवले महामानव बिपी कोइरालाका सन्दर्भमा गरिएका प्रचारबारे प्रस्टीकरण दिनुभयो। उहाँले २०१२ को वीरगन्ज अधिवेशनमै नेता कोइरालाले यो विषयमा प्रस्ट पार्नुभएको बताउनुभयो।
उहाँले भन्नुभयो, “बिपी कोइराला राजतन्त्रका प्रवर्तन हुनुहुन्न थियो। बिपीले वीरगन्ज अधिवेशनमा ‘अहिले हामी आधुनिक समाज निर्माण गर्न हामी हिँडेका छौँ।
राजसंस्थालाई, राजालाई मुर्दालाई काँधमा बोकेर हिँड्ने बेला जस्तो भएको छ। तर यो समयसापेक्ष होइन। नेपालका सन्दर्भमा यसो गर्नु परिरहेको छ’ भन्नुभएको थियो। त्यो बिपी कोइरालाको रणनीति थियो। मेलमिलापको रणनीति थियो। बिपी कोइराला राजावादी होइन। प्रजातन्त्रवादी, समाजवादी र गान्धीवादी हुनुहुन्थ्यो।”
डा. यादवले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालामा गाउँको विकास गर्ने सोच रहेको र समाजवादका माध्यमबाट समाज बल्दने सोच रहेको बताउनुभयो।
उहाँले राणाशासनको अन्त्यपछि बिपीले नेपालमा पार्टी सङ्गठन विस्तारमा लाग्दा नेपालका तराई, मधेश, हिमाल र पहाडको जनजीवनका सबै आयाम बुझेको बताउनुभयो।
उहाँले भन्नुभयो, “बिपी कोइरालामा लोकतन्त्र र समाजवादमार्फत दुई महान राष्ट्रको बिचमा रहेको नेपाल राष्ट्रलाई समुन्नत र सफल बनाएर अघि बढाउने उच्चतम चिन्तन थियो। दुईतिहाइ जितेर राष्ट्र बनाउँछु भन्ने बिपी कोइरालाको सङ्कल्प थियो। १५ वर्ष सरकार चलाउन पाएको भए अर्कै अवस्था हुने थियो।”
डा. यादवले बिपी कोइरालालाई बहुआयामिक व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो। उहाँका अनुसार नेता कोइरालाले नेपाली, हिन्दी र अंग्रेजीमा पनि साहित्य लेखन गर्नुभयो। उहाँले भन्नुभयो, “बिपी २५ वर्षसम्म भारतमा बस्नुभयो। उहाँलाई दक्षिण एशियाकै उदाहरणीय राजनेता मानिन्थ्यो।
डा. यादवले बिपी कोइरालाले २०२८–३० तिर हतियारको राजनीति गर्ने सोचे पनि २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर फर्किएको र राष्ट्रलाई एकताबद्ध गर्ने अभियान आरम्भ गर्नुभएको बताउनुभयो।
लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं पूर्वसचिव उमेशप्रसाद मैनालीले सरकारको नेतृत्व गर्दा बिपी कोइरालाले मन्त्री, सांसद्को तलव घटाएको स्मरण गर्दै राज्यका प्रशासनिक निकाय र कर्मचारीतन्त्रका सुधारकका रूपमा उहाँलाई सम्झिनुपर्ने बताउनुभयो।
कृति लेखक तथा सम्पादक प्राडा. हरिप्रसाद पराजुलीले महामानव बिपी कोइरालालाई भेट्न जाँदा आक्रमणमा परेको स्मरण गर्दै पुस्तकमा उहाँका जीवन सङ्घर्षका बहुआयामिक पक्ष समेटिएको जानकारी दिनुभयो।
वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमले राजनीतिक रूपान्तरणसँगै नेपाली साहित्यमा बिपी कोइरालाको विशिष्ट योगदान रहेको स्मरण गर्दै अहिलेको पुस्ताले पनि उहाँको शैली अनुशरण गरिरहेको बताउनुभयो।
कांग्रेस केन्द्रीय सदस्य किरण यादव, ट्रस्टका बोर्ड सदस्य प्राज्ञ डा. ज्ञानु पाण्डेले बिपी कोइरालाको राजनीतिक जीवन प्रेरणादायी र युगीन रूपान्तरणतर्फ दृढ रहेको बताउँदै उहाँको वैचारिक, राजनीतिक, सैद्धान्तिक धरातललाई बुझ्नुपर्नेमा जोड दिनुभयो।
ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले महामानव बिपी कोइरालाको राजनीतिक विरासत, लोकतान्त्रिक आन्दोलनका लागि प्रेरित गर्नका लागि गर्नुभएका अथक प्रयास र नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन गर्नुभएको सङ्घर्षका गाथा पुस्तकमा समेटिएको बताउनुभयो। उहाँले ट्रस्टले नेता कोइरालाका साहित्यिक, राजनीतिक एवं अन्य दस्तावेजलाई संरक्षण गरिरहेको बताउनुभयो।