विजयकुमार साह
ढल्केबर, साउन ७ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६, रक्ताही कमलास्थित वन क्षेत्रभित्रको जग्गा अनधिकृत रूपमा किनबेच भइरहेको खुलासा भएको छ ।
स्थानीय र भूमाफियाको मिलेमतोमा कपाली तमसुक बनाएर वनको जग्गा खरिद–बिक्री हुने गरेको खुलासा भएको हो ।
स्थानीय केवलकिशोर यादवले सो वन क्षेत्रभित्रको नौ कट्ठा जमिन धनुषाधाम नगरपालिका–९, यज्ञभूमिका साने खत्रीलाई बिक्री गरेको भेटिएछि यस्तो तथ्य खुलेको सब डिभिजन वन कार्यालय गोदारका वन अधिकृत भगलु मण्डलले बताउनुभयो ।
यादवले सो जमिन आफ्नो हकभोगमा रहेको भन्दै नौ कट्ठा जमिन दुई लाख ८८ हजार रुपियाँमा खत्रीलाई बिक्री गरेको प्रमाण भेटिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार वन क्षेत्रभित्रको जमिन खरिद बिक्री गैरकानुनी हो ।
स्थानीय अनुसार २०५० सालतिर कमला नदीमा आएको ठुलो बाढीले ल्याएको गिट्टी, बालुवाले यो वन क्षेत्र पुरेको थियो । त्यसको केही वर्षपछि केही स्थानीयले यो जग्गा खनजोत गरी अन्नबाली लगाउन थाले ।
यही खनजोतलाई आधार बनाएर केही व्यक्तिले जग्गा आफ्नो भएको दाबी गर्न थालेका छन् । यसैको आडमा गाउँका धनीमानी व्यक्ति र बाहिरका मानिसले समेत यस क्षेत्रमा जग्गा कब्जा गरेका छन् । यस ठाउँमा यसरी नै कपाली तमसुक बनाएर जमिन खरिद बिक्री हुने गरेको स्थानीयको भनाइ छ ।
वन क्षेत्रभित्रको जग्गाको अनधिकृत किनबेच बढेपछि सव डिभिजन वन कार्यालय गोदारले यसलाई नियन्त्रण गर्ने पहल सुरु गरेको छ । वन अधिकृत मण्डलले अतिक्रमित वनको जग्गा खाली गराउने बताउनुभयो ।
उहाँले करिब ३० हेक्टरभन्दा बढी जग्गा अतिक्रमणमा परेको जानकारी दिँदा ती जग्गालाई अतिक्रमणमुक्त गराएर तारजाली लगाउने र वृक्षरोपण गर्ने योजना रहेको जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय धनुषाका डिभिजन प्रमुख विनोद सिंहले सार्वजनिक वन क्षेत्रभित्र पर्ने भूभागमा स्वामित्व दाबी गर्न वा खरिद–बिक्री गर्नु गैरकानुनी भएको बताउनुभयो ।
उहाँले यस विषयमा छानबिनको प्रक्रिया अगाडि बढाइएको बताउँदै केही प्रमाणहरू सङ्कलन गरिएको जानकारी दिनुभयो ।
उहाँले वन क्षेत्रको जग्गा यसरी अनधिकृत किनबेच र कब्जाले प्राकृति स्रोतमाथि असर पर्ने बताउँदै वन विनासको असर मधेश प्रदेशमा प्रत्यक्ष रूपमा देखिएको बताउनुभयो ।