• ७ साउन २०८२, बुधबार

ट्याङकरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

blog

जनार्जन खत्री
सर्लाही, साउन ७ गते ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित बागवानी लच्कामा ट्याङकर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक हरिवन नगरपालिका–४, सासापुरका ३१ वर्षीय रामबहादुर स्याङतानको मृत्यु भएको हो । बागवानीस्थित लच्कामा चार लेनको सडक बनाउने क्रममा कलभर्ट निर्माण भइरहेको ठाउँमा लालबन्दीबाट नवलपुरतर्फ जाँदै गरेको को. १ ख ५९३८ नम्वरको तेल बोक्ने खाली ट्याङकर र लालबन्दीतर्फ आउँदै गरेको बा. ८७ प १३७० नम्वरको मोटरसाइकल आपसमा ठोक्किँएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

ट्याङकरसँग ठोक्किँएपछि गम्भीर घाइते भएका मोटरसाइकल चालक स्याङतानलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो । उहाँका अनुसार ट्याङकर र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।