• ७ साउन २०८२, बुधबार

बिपी र पुष्पलालको प्रेरणा

blog

युगपुरुष विश्वमै बिरलै जन्मन्छन् । समाजलाई दूरगामी दिशानिर्देश गर्ने प्रेरणापुञ्ज भन्न सकिने त्यस्ता युगपुरुषकै कारण समाज परिवर्तनका अनेक ढोका खुल्दै जान्छन् । नेपालको राजनीतिको यो सात/आठ दशकमा अनेक परिवर्तन भए । ती सबै क्रान्तिको जग भने सात सालको क्रान्ति नै हो । सात सालको क्रान्ति युगान्तकारी थियो । शताब्दीभन्दा लामो जहानियाँ पारिवारिक शासनको जरो उखेल्ने त्यस क्रान्ति निर्माणमा अनेकौँ नेपालीको योगदान छ । अनेक योगदान सूत्रीकरण गर्ने त्यस क्रान्ति रचनामा विश्वेश्वरप्रसाद कोइराला (बिपी) को नेतृत्व स्वयम्मा युगान्तकारी थियो । बिपीको युगचेतना र नेतृत्व अग्रता इतिहासले कहिल्यै भुल्न सक्दैन । राणा प्रधानमन्त्री चन्द्रशमशेरको प्रताडनाले निर्वासित कृष्णप्रसाद कोइरालाका सुपुत्र बिपीको जन्म १९७१ भदौ २४ गते निर्वासित परिवारमा भारतमै भयो । शिक्षादीक्षासँगै परिवर्तनको चेतले भारत स्वतन्त्रतामा समेत राजनीतिक योगदान दिँदै बिपीले नेपाली क्रान्तिको जग निर्माण गर्नुभयो । भारतमा बेलायती औपनिवेशिक शासन हटेसँगै नेपाली क्रान्तिको आधार सिर्जना भयो । लोकतान्त्रिक समाजवादी दर्शनका नायक बिपीको निधन २०३९ साउन ६ गते हुन पुग्यो । त्यसको तीन वर्षअघि २०३५ साउन ७ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको निधन हुन पुग्यो । संयुक्त जनआन्दोलनबाट मात्र नेपालमा पञ्चायती निरङ्कुश शासन समाप्त गर्न सकिने क्रान्तिप्रेरणा पुष्पलालकै सोच हो । बिपी र पुष्पलाल दुवै युगपुरुषलाई साउन ६ र ७ गतेले कहिल्यै बिर्सन सक्दैन ।


सात सालको क्रान्ति सफल भएपछि नेपाल जहानियाँ शासनबाट बाहिर आयो । युगौँदेखि गरिबी, अभाव र पछौटेपनमा रहेको नेपाल लोकतान्त्रिक अभ्यास भने सहज थिएन । सात सालपछिको एक दशकमा अस्थिरताबिच भएका क्रमबद्ध अभ्यासले २०१५ सालमा आमनिर्वाचन सम्भव भयो । १०९ सदस्यीय प्रतिनिधि सभामा ७४ स्थान विजयी हासिल गर्न नेपाली कांग्रेस सफल भयो । बिपी कोइराला २०१६ साल जेठमा प्रधानमन्त्री नियुक्त हुनुभयो । उहाँले १८ महिना हाराहारी कार्यकारी नेतृत्व गर्नुभयो । त्यो छोटो समयमा बिर्ता उन्मूलन, वनको सरकारीकरण, राजारजौटा उन्मूलन, सहकारीको विकास, सडक तथा हवाई यातायात जस्ता काम भए । सत्र साल पुस १ गते राजा महेन्द्रको प्रतिगामी कदमले बिपीले आठबर्से काराबास बस्नु प¥यो । काराबास जीवनमा पनि राजनीतिसँगै साहित्य साधनबाट नेपाली समाजलाई प्रेरणादायी योगदान गर्नुभएका बिपी काराबासपछि समेत देशभित्र बस्नु पाउनुभएन । थप आठ वर्ष निर्वासित जीवन बिताउनु प¥यो । मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वेश फर्किनुभयो । बिपीले नेपाली राजनीतिलाई लोकतान्त्रिक मूल्य, मर्म र आदर्शबाट प्रेरित गरेकै कारण २०३६ सालको जनमतसङ्ग्रह सम्भव भएको विश्लेषण गरिन्छ । जनमतसङ्ग्रहमा प्राविधिक कारणले बहुदल विजय हुन सकेन तर सोही चेतना विस्तारले २०४६ सालको जनआन्दोलन सम्भव भएको मान्ने गरिन्छ । अहिले नेपाल लोकतान्त्रिक गणतन्त्रको नवीन युगमा छ । यो युगसम्म आइपुग्न बिपीको चिन्तन तथा क्रान्तिधारको गहन समीक्षा वाञ्छनीय छ ।


पुष्पलाल सहिद गङ्गालालका भाइसमेत हुनुहुन्छ । उहाँले राणाकालमै नेपालमा कम्युनिस्ट आन्दोलनको परिकल्पना गर्नुभयो । साल सालको क्रान्तिअघि नै २००६ सालमा कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो । नेपालमा साम्यवादी आन्दोलनका रचनाकार पुष्पलालले कम्युनिस्ट पार्टीको चर्चित घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो । कार्ल माक्र्सले सन् १८४८ मा लेख्नुभएको कम्युनिस्ट पार्टीको घोषणापत्र संसार बदल्ने प्रभावशाली दस्ताबेज मानिन्छ । त्यसलाई नेपालीमा अनुवाद आफैँमा युगान्तकारी चेत थियो । समाजवादी सर्जक प्रोफेसर सिके प्रसाईंले कम्युनिस्ट पार्टीको सो चर्चित घोषणापत्रलाई समाजवादको आधारशिला मान्नुभएको छ । बिपी र पुष्पलाल युगले जन्माएका नेता मात्र थिएनन्, दुवैको अथक योगदान नेपालको हरेक परिवर्तनका ऊर्जा हुन् । साथै, नेपालमा सामन्तवादको जरो उखेल्दै आधुनिकीकरणका निम्ति अग्रमोर्चा समाल्ने सर्जकसमेत हुन् । विपन्न र श्रमजीवी जनताको भलाइका निम्ति सधैँ चिन्तनशील नेतृत्व हुन् । बिपीले प्रधानमन्त्री हुँदा योजना आयोगमा प्रधानमन्त्रीको तस्बिरसँगै हलो जोतिरहेको किसानको तस्बिर पनि हुनु पर्छ भन्नुभयो । त्यसको मूल मर्म किसानको जीवन परिवर्तन गर्न सक्ने योजना बनाउने गहन शिक्षासमेत हो । अनेक सङ्घर्षपछि नेपाल अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । तथापि जनताले चाहेको आर्थिक सामाजिक उपलब्धि अझै देखिएको छैन । तमाम राज्यसंयन्त्रले चाहेको सुशासन प्राप्त हुन सकेको छैन । सुशासनबाट मात्रै समृद्धि सम्भव छ । त्यसैबाट मात्र बिपी र पुष्पलालको प्रेरणाले सार्थकता दिने छ ।