काठमाडौँ, साउन ६ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हानिकारक पदार्थको प्रयोगबाट बच्न सचेतना आवश्यक भएको बताउनुभएको छ । नेपाली कांग्रेसले ४३ औं बीपी स्मृति दिवसको सन्दर्भमा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आयोजित “वातावरण तथा जलवायु परिवर्तन सरोकार” सम्बन्धी विषयमा ३० दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहमा मन्तव्य राख्नुहुँदै यस्तो बताउनुभएको हो । ‘‘हामी सम्पूर्ण नागरिकलाई स्वास्थ्य, वातावरण र जलवायु परिवर्तनप्रति सचेत रहन तथा यस्ता हानिकारक पदार्थको प्रयोगबाट बच्न र समाजमा सचेतना फैलाउन आह्वान गर्दछौं’’, उहाँले भन्नुभयो ।
२०३९ साल साउन ६ गते बीपी कोइरालाको स्वर्गारोहण भएको दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष बी.पी. स्मृति दिवसका रूपमा विविध रचनात्मक कार्यक्रमहरू गर्दै मनाउँदै आएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि बीपीले पुर्याउनु भएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा सदा अजर र अमर रहेको बताउनुभयो।
कोइरालाको निधन घाँटीको क्यान्सरका कारण भएको सम्झना गर्दै क्यान्सर जस्ता घातक रोग प्रायः मादक पदार्थ, सूर्तिजन्य वस्तु तथा लागू पदार्थको सेवनबाट उत्पन्न हुने बताउनुभयो ।
‘‘राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका प्रणेता कोइरालाको ४३ औँ स्मृति दिवसको यस दिनदेखि लागू हुने गरी नेपाली कांग्रेस केन्द्रीय कार्यालय, संघीय र प्रदेशका संसदीय दलको कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय, प्रतिनिधि सभा क्षेत्रीय कार्यालय, प्रदेश सभा क्षेत्रीय कार्यालय, पार्टीको स्थानीय तहका कार्यालय, पार्टीका सबै वडा कार्यालय, भ्रातृ एवं शुभेच्छुक संस्थाका कार्यालय र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालय धुम्रपान र सूर्तिजन्य पदार्थ मुक्त क्षेत्र रहने घोषणा गर्दछु’’, उहाँले भन्नुभयो ।