भवानीदत्त भट्ट
कञ्चनपुर, साउन ६ गते । कञ्चनपुरस्थित मोटरघाट सडक छेउमा मृत फेला पर्नुभएका रामरेशर रानाको हत्या गरिएको खुलेको छ । लालझाँडी गाउँपालिका–४ सिगलपट्टीका ४९ वर्षीय राना वैशाख १७ गते बिहान ६ बजे मोटरघाट सडक छेउमा मृत अवस्थामा फेला पर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार श्रीमती माया चौधरीले परपुरुषसँगको मिलेमतोमा रानाको हत्या गरेको अनुसन्धानबाट खुलेकाे हो ।
घटनालगत्तै मृतकका आफन्तले उहाँका श्रीमतीसहित बेलौरी नगरपालिका ४ का पुन्ना राना र छिमेकी मानमतीविरुद्ध किटानी जाहेरी दिएका थिए । अनुसन्धानका लागि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको जनाएको छ । अनुसन्धानका क्रममा मृतकका श्रीमतीले पुन्ना राना र मानमती चौधरीसँग मिलेर वैशाख १६ गते मध्यराति १२ बजे रामरेशरको हत्या गरेको स्वीकार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्कबहादुर खत्रीका अनुसार पुन्ना राना ट्याक्टर चालक हुन् । २०८१ मा मृतकका श्रीमती र रानाबिच भेट भएको थियो । बयानका क्रममा उनीहरूबिच फोन नम्बर साटासाट भएपछि भेटघाट भइरहन्थ्यो । मृतक राना रोजगारीको सिलसिलामा भारतमा बस्दै आउनुभएको थियो ।
वैशाख १६ गते पुन्ना राना बेलौरीबाट मानमतीको घर हुँदै मायाको घरमा पुग्नुभएको थियो । मायाले सोही दिन राति श्रीमान् घरमा नभएको फोनबाट बताएपछि पुन्ना मायाको घरमा पुगेको बयानका क्रममा बुझिएको प्रहरीले जनाएको छ । तर पुन्ना पुग्नेको केही समयमै रामरेशर पनि घरमा पुग्नुभएको थियो । सोही राती घरमा परपुरुषलाई बोलाएको विषयमा विवाद भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
राना भारतबाट घर आएको दुई सातामै श्रीमतीसँग विवाद हुँदा १६ गते राती तीनै जना मिलेर बाँसको चिर्पटले टाउकोमा प्रहार गरी रानाको हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।
हत्या अभियोगमा पक्राउ परेका राना मृतकको घरमा आउजाउ गरिरहने अनुसन्धानबाट खुल्न आएको एसपी खत्रीले बताउनुभयो । हत्यापछि तीनै जना मिलेर १७ गते बिहानै शवलाई सडक छेउमा फालेको बयानका क्रममा स्वीकार गरेको एसपी खत्रीले बताउनुभयो ।
घटनालगत्तै मृतकका आफन्तले तीनै जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई असार ५ गते नियन्त्रणमा लिएको जनाएको छ । असार २० गते अनुसन्धानसहित जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल पठाइएको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।
असार २६ गते कञ्चनपुर जिल्ला अदालतले पुन्ना रानालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने माया चौधरी र मानमती चौधरीबाट १ लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसक्दा तीनै जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो । मृतक रानाका एक छोरा र दुई छोरी छन् ।