चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ६ गते। ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विकास समितिले प्रहरीलाई उद्धार सामग्री प्रदान गरेको छ। समितिले बाढी, पहिरो, आगलागीजस्ता विपतका घटनामा प्रयोग गरिने उद्धार सामग्री नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उपलब्ध गराएको हो।
विपतका घटनामा प्रयोग गरिने उद्धारका सामग्री जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नम्बर १ गुल्म कञ्चनजङ्घा डेहक्वार्टरलाई उपलब्ध गराइएको छ। उद्धार सामग्री ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम र कञ्चनजङ्घा गुल्मका गुल्मपतिलाई उपलब्ध गराएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो।
कार्यकारी निर्देक हाङ्बाङका अनुसार बाढीपहिरो, आगलागी, भूकम्पजस्ता प्राकृतिक विपतमा गरिने उद्धार तथा राहत सहयोगलाई प्रभावकारी बनाउनमा सहयोग पु¥याउने उद्देश्यले प्रहरीलाई उद्धार सामग्री उपलब्ध गराइएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई वितरण गरिएको उद्धार सामग्रीमा स्ट्रेचर, सिलिन्डर, हेलमेट, फायर स्वेटर, वाटर ब्याग, गमबुट, हेभी लाइटलगायत रहेका छन्।
यता प्राप्त उद्धार सामग्रीले विपत् आइलागेमा तत्काल उद्धारमा सहयोग पुग्नुका साथै विपतसम्बन्धी घटना न्युनिकरणमा थोरै भए पनि सहयोग पुग्ने प्रनाउ गौतमको भनाइ छ। ताप्लेजुङका ६१ वडामध्ये ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका छन् भने ४६ वटा वडा आगलागीको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिको तथ्याङ्क रहेको छ।