नेपाली राजनीतिलाई आधुनिक मूल्यमान्यताको अग्रगामी मूलबाटोमा हिँडाउने, दिशानिर्देश गर्ने र सर्वाधिक प्रभावित तुल्याउने नेपाली राजनीतिक इतिहासका दुई प्रखर व्यक्तित्व हुन् पुष्पलाल र बिपी कोइराला । यो कुरा सत्य हो कि उहाँहरूको जीवन दर्शन एउटै थिएन । उहाँहरूले नेपालको आधुनिकीकरण र लोकतान्त्रिकीकरणका विषयमा बेग्लाबेग्लै विचार, आदर्श, सिद्धान्त, नीति र कार्यक्रम अघि सार्नुभएको थियो । त्यसमा अखण्डित रूपमा आस्थावान्समेत रहनुभएको थियो । त्यति हुँदाहुँदै पनि उहाँहरूले साझा सहमति र सहकार्यको खोजी पनि गर्नु हुन्थ्यो । परस्पर अन्तरविरोधका कुरालाई थाती राख्दै नेपाली जनआन्दोलनको विकास गर्ने र त्यसलाई जोगाउने क्रममा सहकार्यलाई प्रबल रूपमा अघि बढाउन उहाँहरू चाहनु हुन्थ्यो ।
विशेषतः पुष्पलालले राजा महेन्द्रको २०१७ सालको प्रतिगामी कदमपछि प्रस्ट र प्रखर रूपमा राजतन्त्रविरुद्ध साझा दृष्टिकोण बनाएर अघि बढ्नुपर्ने विचार राख्दै आउनुभयो । कम्युनिस्ट र कांग्रेस एक भई लड्नुपर्नेमा जोड दिँदै संयुक्त जनआन्दोलनको नीति अघि सार्नुभएको थियो । राजाद्वारा नेतृत्व गरिएको सामन्ती अधिनाकयवादी पञ्चायती व्यवस्था नेपाली जनताको साझा दुस्मन, नेपाली समाज विकासको साझा अवरोध र त्यसलाई पन्छाउनैपर्ने अनिवार्यता र आवश्यकता थियो । बिपीको नेतृत्वमा नेपाली कांग्रेसले पनि २०१८ साल र २०३१/३२ सालमा राजतन्त्रविरुद्ध सशस्त्र सङ्घर्ष चलायो । यसले पनि कांग्रेस र कम्युनिस्ट दुवैको साझा दुस्मन राजतन्त्र हो भन्ने पुष्पलालको दृष्टिकोण सही थियो भन्ने प्रस्ट हुन्छ ।
पुष्पलाल नेपाली जनतासँग नङ मासु सरह नगाँसिए सशस्त्र सङ्घर्ष अपरिपक्व र असफल हुन्छन् र त्यस्तो सङ्घर्षबाट देश र जनतलाई जोगाउनु पर्छ भन्ने पक्षमा हुनु हुन्थ्यो । सशस्त्र सङ्घर्ष गर्ने कार्यकर्ताको दबाब पर्दा पुष्पलालले हमेशा सम्झाउनु हुन्थ्यो । नेतृत्वको एउटा समयको निरपेक्ष गलत निर्णयले लाखौँ जनता र हजारौँ कार्यकर्ताको जीवन बर्बाद हुन सक्छ भन्ने उहाँको दृष्टिकोण थियो । सही र समयसापेक्ष निर्णयले करोडौँ जनतामा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासको सञ्चार गर्छ । आमूल सामाजिक परिवर्तनको माथिल्लो चरणमा आन्दोलन उठाउन र विकसित गर्न थप मद्दत गर्छ भन्नु हुन्थ्यो ।
यस सन्दर्भमा उहाँले संयुक्त जनआन्दोलनको माध्यमबाट जनतालाई शोषण, उत्पीडन, असमानता, अन्याय, अभाव र गरिबी र शोषण थोपर्ने परिपाटीविरुद्ध लाग्न प्रेरित गरिरहनु हुन्थ्यो । उहाँ कारण एवं निवारणबारे जनतालाई सचेत, सङ्गठित र सङ्घर्षशील बनाएर मात्र सशस्त्र सङ्घर्ष जनताद्वारा, जनताका लागि, जनताले चलाउने सङ्घर्ष विकसित गर्न र सफल तुल्याउन सकिने विषयमा बारम्बार सम्झाउने गर्नु हुन्थ्यो । पुष्पलालको दृष्टिमा कुनै पनि प्रकारको सङ्घर्ष समाज र वर्गसापेक्ष थियो । निरपेक्ष बिल्कुलै थिएन । आमूल निर्णायक परिवर्तन निर्णायक स्वरूपको सङ्घर्षबाट मात्रै सम्भव हुन्छ भन्ने कुरामा पुष्पलालमा कुनै अस्पष्टता र दुबिधा थिएन । यहाँ लेनिनले ‘सशस्त्र सङ्घर्ष क्रान्तिको शल्यक्रियात्मक अंश हो’ भन्ने कुरालाई पुष्पलालले राम्रोसँग आत्मसात गरेको देखिन्छ ।
पुष्पलाल र बिपीबिचमा राजनीतिक परिवर्तनको अवरोध र त्यसलाई बदल्नुपर्ने आवश्यकता, औचित्य र आधार समान बोध भए पनि उहाँहरूका लक्ष्य र गन्तव्यका आआफ्नै सीमा थिए । बिपीको प्रजातान्त्रिक समाजवाद र पुष्पलालको सङ्क्रमणकालीन नयाँ जनवाद हुँदै ‘वैज्ञानिक समाजवाद’ मा पदार्पण गर्ने कुराले यो एकदमै प्रस्ट पार्छ । तथापि सामन्तवाद समाप्त पारेर त्योभन्दा उन्नत र आधुनिक माथिल्लो चरणमा नेपाली समाजलाई लैजाने र देशलाई अग्रगति दिनपर्ने कुरामा दुवै नेतामा कुनै आधारभूत अन्तरविरोध थिएन । त्यसैले त्यहाँ साझा दृष्टिकोणको धरातल देखेर नै पुष्पलालले सङ्घर्षमा सहकार्यको मार्गमा हिँड्न सकिने विषय अघि सानुभएको थियो, त्यो थियो, संयुक्त जनआन्दोलनको समयसापेक्ष सही नीति ।
बिपी र पुष्पलाल जीवित छँदा वनारसको टाउनहलमा एउटै मञ्चमा खडा भएर राजतन्त्र र राजाको नेतृत्वको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त आवाज उठाउनेभन्दा बढी अगाडि बढ्न सम्भव भएन । यद्यपि त्यतिबेला त्यति कुराले मात्र पनि संयुक्त जनआन्दोलनको स्पष्ट वस्तुगत आवश्यकताको सन्देश दिएकाले ठुलो राजनीतिक तरङ्ग पैदा गरेको थियो । संयुक्त जनआन्दोलनको त्यो नीति २०३६ सालको संयुक्त राष्ट्रिय विद्यार्थी आन्दोलन, २०४६ सालको पञ्चायती व्यवस्था विरोधी ऐतिहासिक संयुक्त जनआन्दोलन र २०६२/६३ सालको राजतन्त्रविरोधी बृहत् ऐतिहासिक संयुक्त जनआन्दोलनमा व्यवहारमा प्रस्ट रूपमा परिलक्षित र चरितार्थ भएको थियो । दुवै नेता जीवित छँदा संयुक्त जनआन्दोलनले मूर्त र ठोस रूपाकार लिएर अघि बढ्न सकेन ।
माथि उल्लेख गरिएका तीन वटा काल खण्डमा एकपछि अर्को संयुक्त आन्दोलनको शृङ्खला सिर्जना गरेको र त्यसले झन् पछि झन् बृहत् सफलता पाएको थियो । नेताहरू सधैँ नरहने भए पनि सही नीति सधैँ कायम रहन्छ र अघि बढ्छ भन्ने यसबाट पनि प्रमाणित हुन्छ । पुष्पलालको ‘नेता प्रधान होइन, नीति प्रधान हुन्छ’ भन्ने ऐतिहासिक अनुभवको निचोडलाई पनि यसले अझ सार्थक तुल्याएको र स्पष्ट पारेका वास्तविकतालाई बुझ्न सकिन्छ ।
पुष्पललालको २०३५ सालमा र बिपीको २०३९ सालमा निधन भए पनि संयुक्त जनआन्दोलनको सही नीतिले नेपाली समाजको अन्तरविरोध हल गर्ने बाटो लिन्थ्यो नै र लियो पनि । प्रधान अन्तरविरोध हल नगरी एक पाइला पनि नेपाली राजनीति अघि बढ्न सक्ने कुनै बाटो थिएन । त्यसैले राजासँगको मेलमिलापको कार्यनीतिले पनि राजाको मन पग्लिने र वर्गीय रूपमा राजतन्त्र बदलिने कुरा थिएन । अन्ततः संयुक्त जनआन्दोलनले नै त्यसलाई सत्ता केन्द्रबाट विस्थापित गरिदियो र आज देशमा गणतन्त्र आएको छ । सत्ताको लोभकै कारण मुख्य दलले पहिलो संविधान सभाबाट संविधान निर्माण गर्न सकेनन् । त्यो दुःखद घट्नाको जिम्मेवारी आजसम्म कसैले लिएको छैन ।
दोस्रो संविधान सभाबाट मुलुकमा संविधान बन्यो । गणतन्त्र आयो । सङ्घीयता पनि लागु भएको छ तर त्यसलाई सही किसिमले संस्थागत गर्ने बाटो पहिल्याउन सकिएको आभास हुँदैन । सङ्घीयतालाई जनमुखी बनाउन सकिएको छैन । जनतालाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हिसाबले सबल, सक्षम र सफल एवं स्वशासित बनाउने दिशामा देशलाई अग्रसर गराउन मार्गदर्शन गर्ने खालको संविधान निर्माण हुन नसकेको गुनासा र असन्तुष्टि पनि छन् । जे जस्तो संविधान बनेको छ, त्यसको सीमाभित्रै रहेरै पनि सबैको विश्वास जित्ने वातावरण सिर्जना गर्न सकिन्छ । नेतृत्व त्यस दिशामा अघि बढ्न सकेको छैन ।
फलतः देशलाई सही दिशा र अग्रगति दिन सकिने आधार तयार गर्नेतिर सत्तामा बसिसकेका र बसिरहेका कुनै पनि रङ्ग रूपका दल लागेका छैनन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाप्रति पनि जनताका गुनासा व्यापक छन् । राज्यका यी प्रमुख निकायलाई कामयवी बनाउन दलहरू एक ठाउँमा आउनै पर्छ ।
यसले मात्र राष्ट्रिय हितमा केही सकारात्मक आशा गर्न सकिने र भर पर्न सकिने स्थिति सिर्जना गर्ने छ । देशलाई अस्थिरतामा जाने बाटो रोक्ने काम दलकै हो । राजतन्त्र फर्काउने कुरा कोरा कल्पना हो, यो विषयका वादविवाद गर्नुको कुनै तुक छैन । आज गणतन्त्र, राष्ट्रियता र जनजीविका जस्ता संवेदनशील विषयमा प्रश्न उठाउने ठाउँ छन् । यी प्रश्नको उत्तर खोज्ने दिशामा अघि बढ्न राजनीतिक दलले सके भने पुष्पलाल र बिपीको आदर्शले काम गरिरहेको ठहर्ने छ । आआफ्नो किसिमले दूरगामी राष्ट्रिय चरित्र, चिन्तन भएका सिद्धान्तनिष्ठ, इमानदार र समर्पित व्यक्तित्वको सम्मान हुन सक्दैन ।
आज बिपी र पुष्पलालको जस्तो देश र जनताप्रतिको निःस्वार्थ समर्पण, त्याग र निष्ठाको पुनरूत्थान गर्नुपर्ने आवश्यकता झनै बढेर गएको छ । यसो गर्न सकेमा मात्र अब देशले सही निकास पाउने, अन्योल र अनिश्चितताको पनि अन्त्य हुने छ । भ्रष्ट, घुसखोर, सुदखोर, कमिसनखोर, मानव तस्करी जस्ता घोर विकृत प्रवृत्तिबाट मुक्त नभई यो सम्भव पनि छैन । जनता र राष्ट्रको हितलाई केन्द्रविन्दुमा राखेर अग्रगामी, उन्नत र परिपक्व दिशामा अग्रसर हुन सकेमा मात्र नेपाली जनआन्दोलनका दुई शिखर पुरुषप्रति भावपूर्ण शब्दोच्चारण र उच्च सम्मान प्रकट गरेको पनि सार्थक हुने छ ।