देवराम यादव
सप्तरी, साउन ६ गते । सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविव) राजविराजको परीक्षा केन्द्र सिराहाको लहानमा सारिएको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । मविव क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा मङ्गलबार विरोध प्रदर्शनमा विद्यार्थी आन्दोलित भएको हो ।
सुरुमा विज्ञान सङ्कायको परीक्षा केन्द्र लहान सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै विरोध जनाइरहेका थिए । तर त्यसको केही समय नबित्दै एलएलबी र व्यवस्थापन सङ्कायका समेत परीक्षा केन्द्र लहान सारिएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन् ।
त्यसको विरोधस्वरूप मङ्गलबार बिहान विद्यार्थीहरूले क्याम्पस परिसरमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन् । सप्तरी र सिराहाको मात्र परीक्षा केन्द्र सार्नुमा त्रिवि कार्यालयको बदनियत रहेको स्वतन्त्र विद्यार्थी युनियन मविब क्याम्पस राजविराजका सभापति रंजित यादवको आरोप छ ।
स्ववियु सभापति यादवका अनुसार राजविराजमा भवन र पूर्वाधार प्रशस्त हुँदाहुँदै परिक्षा केन्द्र सार्नु हाम्रो लागि अपमानजस्तै भएको बताउनुहुँदै सप्तरी र सिराहाको मात्रै परीक्षा केन्द्र सारिएकोमा आपक्ति जनाउनुभयो । उहाँले त्रिवि आङ्गिक क्याम्पसको सेन्टर निजी क्याम्पसमा दिनु गलत भएकोले ‘यो निर्णय बदनियतपूर्ण र यहाँका विद्यार्थीमाथिको अन्यायपूर्ण व्यवहार भएको बताउनुभयो । उहाँले यदि त्रिविले तुरुन्त निर्णय फिर्ता लिँदैन भने हामी अझ कडा आन्दोलनमा जान बाध्य हुने सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
परीक्षा केन्द्र लहान सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले चर्को नाराबाजी गर्दै त्रिभुवन विश्वविद्यालय र सम्बन्धित निकायहरूसँग तत्काल निर्णय फिर्ता लिन माग गरेको छ।उनीहरुले क्याम्पसको परीक्षा केन्द्र पुनः क्याम्पसमै कायम नगरे आन्दोलन कायमै राख्ने र समाधान नखोजिए थप कडा आन्दोलन गर्ने चेतावनी विद्यार्थीहरूले दिएका छन्। त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार बुधबारदेखि एलएलबी दोस्रो वर्षको परीक्षा हुँदै छ ।
तर स्ववियु आबद्ध विद्यार्थी आन्दोलित हुँदा यहाँका परीक्षार्थीमा पनि परीक्षामा सहभागी हुने विषयमा अन्योल देखिएको छ । यहाँ एलएलबी दोस्रो वर्षमा ३ सय विद्यार्थी अध्ययनरत छन् ।