• ७ साउन २०८२, बुधबार

कालिगण्डकीमा निर्माणाधीन पुलबाट खसेका युवा घाइते

blog

झोलुङ्गे पुलबाट खसेर थासाङ गाउँपालिका–१ टुकुचे बस्ने २० वर्षीय युवक पेम्बा शेर्पाको उद्धार गरेपछि । तस्बिर: गोरखापत्र

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), साउन ६ गते । मुस्ताङको थासाङ गाउँपालिका२ स्थित कोवाङखन्तीसौरुसिर्कुङ जोड्ने कालीगण्ड नदीमाथि निर्माणाधीन ‘सस्पेन्सन’ झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेर घाइते भएका छन् । घाइते युवालाई उद्धार गरी हेलिकप्टरबाट थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ । 

चामलको बोरा बोकेर जाँदै गरेको अवस्थामा झोलुङ्गे पुलबाट खसेर थासाङ गाउँपालिका१ टुकुचे बस्ने २० वर्षीय युवक पेम्बा शेर्पा घाइते भएपछि प्रहरी चौकी कोवाङका प्रहरी सहायक निरीक्षक दिलबहादुर भण्डारीको नेतृत्वमा गएको प्रहरीको टोलीले उद्धार गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी विकाश अधिकारीले बताउनुभयो । 

घाइते शेर्पाको खुट्टामा गम्भीर चोट लागेको छ । तत्कालै उद्धार तथा उपचारका लागि पठाइएकाले अहिले घाइते शेर्पा खतरामुक्त रहेको जानकारी आएको प्रहरी निरीक्षक अधिकारीको भनाई छ । यसैबिच निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे पुलबाट आवतजावत गर्दा मानवीय क्षतिको जोखिमलाई मध्यनजर गरी आवतजावतमा कडाइ गरिएको छ । 

कालीगण्डकी नदीमाथि ५७० मिटर लामो झोलुङ्गे पुलको दायाँबायाँ तर्फ सुरक्षाका लागि बार लगाउन बाँकी छ भने निर्माणको क्रममा बालबालिकादेखि बृद्धबृद्धा आवतजावत गर्दा थप दुर्घटनाको जोखिमलाई मध्यनजर गरी वडाका जनप्रतिनिधिले समेत आवतजावत गर्ने कार्यलाई कडाइ गर्ने जनाएका छन् । वि.स २०७७ साल वैशाख ३० गते काठमाडौंंले ईलाइट रुविना कन्स्ट्रक्सन जेभीसँग ५ करोड लागतमा ठेक्का सम्झौता गरी कामको जिम्मा लिएकोमा अब  ५ प्रतिशत काम बाँकी रहेको छ । 

चीन र भारत जोड्ने, राष्ट्रिय गौरवको कालीगण्डकी ‘करिडोर’, बेनीजोमसोमकोरला सडक योजनाअन्तर्गत निर्माणाधीन अवस्थामै रहेको पुलबाट सौरु र सिर्कुङबासीका साथै बुकीमा जानेले समेत धेरै प्रयोग गर्ने गरेको पाइएको छ ।