गोरखापत्र अनलाइन
कञ्चनपुर, साउन ५ गते । घुस लिएको रकमसहित डिभिजन वन कार्यालय धनगढी, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले आज नियन्त्रणमा लिएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिअनुसार चुरे गाउँपालिका –६ ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग यादवले घुस मागेको उजुरी अख्तियारको कार्यालयमा परेको थियो ।
सोही उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले सात लाख ३१ हजार घुस लिइसकेको अवस्थामा यादवलाई रकमसहित डिभिजन वन कार्यालय धनगढीबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।