चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ६ गते। ताप्लेजुङमा एक वर्षको अवधिमा करिव सत्र लाख क्युविक फिट गोलिया काठ निकासी भएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार पछिल्लो एक वर्षको अवधि अर्थात आर्थिक वर्ष २०८१/८२ मा उक्त परिमाणमा गोलिया काठ निकासी भएको छ।
कटान गर्न प्रतिबन्धित गरिएकाबाहेक निजी वनबाट गोलिया काठ निकासी गर्ने गरिएको छ। डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवका अनुसार गएको आर्थिक वर्षमा कुल १६ लाख ९७ हजार ८४९.९७ क्युविक फिट काठ निकासी भएको छ। गोलिया काठ अघिल्लो वर्षको तुलनामा गतवर्ष १४ हजार ४८६ क्युविक फिट बढी निकासी भएको छ।
अघिल्लो आव २०८०÷८१ मा १६ लाख ८३ हजार ३६३ क्युविक फिट गोलिया काठ निकासी भएको थियो। जिल्लाका विभिन्न निजी वन क्षेत्रबाट गोलिया काठ निकासी वा स्थानान्तरण गर्ने गरिएको वन अधिकृत यादवले जानकारी दिनुभयो। उहाँकाअनुसार उत्तिस, मलातो, चिलाउने, मौवा र खोटे सल्ला जातका काठहरु निकासी गरिएका छन्।
यता गत आवमा डिभिजन वन कार्यालयले गोलिया काठ निकासी गर्न इजाजत दिएबापत कुल पाँच करोड ८० लाख तीन हजार ४४८ रुपियाँ राजस्व सङ्कलन गरेको छ। सङ्कलित राजस्वमा मूल्य अभिवृद्धि कर चार करोड ८० लाख ५१ हजार ४०३ रुपियाँ र प्रदेश सेवा शुल्कबापत ६७ लाख ५२ हजार ४५ रुपियाँ रहेको डिभिजन वन कार्यालयले जनाएको छ।