रामकृष्ण बोहरा
बागलुङ, साउन ७ गते । बागलुङ नगरपालिका– १३ बलेवाको दम्कफाँटमा सूर्यमुखी फुलको व्यवसायिक खेती थालिएको छ । शिक्षण पेशाबाट अवकाश प्राप्त स्थानीय टिकाराम शर्माले बलेवामा सूर्यमुखी फुलको खेती थाल्नुभएको हो ।
बसाईसराइँले दम्कफाँटको धेरै उर्वर जमिन बाँझिदै गएपछि स्थानीयको जमिन एकीकृत गरेर सूर्यमुखीको व्यवसायिक खेती थालेको ७० वर्षीय शर्माले बताउनुभयो । ‘‘बाँझो जमिनमा पहिलोपटक सूर्यमुखी फुलको खेती गरेर अनुभव सङ्गाल्दै छुँ’’ शर्माले भन्नुभयो, ‘‘विदेशमा रहेका छोराको सल्लाहमा सूर्यमुखी लगाएको हुँ ।’’
शर्माले बाँदर आतङ्कले हैरान भएका र सिँचाइ सुविधा नहुँदा बाँझो बनेको एक सय रोपनी जमिन भाडामा लिएर खेती थाल्नुभएको हो । शर्माले एक मुरी धान फल्ने खेतको पाँच हजार रुपियाँको दरले भाडा दिने गरी पहिलो पटक सूर्यमुखी फुलको खेती गर्नुभएको हो । केदार हाल बैदेशिक रोजगारीमा हुनुहुन्छ । फुलको रेखदेखदेखि दैनिक उत्पादनको काम भने बुबा टिकारामले गर्दै आउनुभएको छ ।
सूर्यमुखीबाट तेल निकाल्न सकिन्छ । यो तेलको बजारमा धेरै माग छ । तेल निकाल्ने काम भने कहिलेदेखि शुरु गर्ने भन्नेमा उनी प्रष्ट भइसकेका छैनन् । ‘‘पहिलो पटक प्रयास गरेका छौं, छोराहरुले पनि प्रशोधनको विषयमा योजना बनाएका होलान्’’ शर्माले भन्नुभयो, ‘‘वातावरण र मौषम अनुसार उत्पादन बढाउन समय समयमा प्राविधिक ज्ञान समेत लिने गरेको छु ।’’ उत्पादन बढाउने र खेतीलाई विस्तार गर्न यो वर्षको बीउलाई बचाएर समयमा लगाउने योजना रहेको शर्माले सुनाउनुभयो ।
कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले यो क्षेत्रमै पहिलोपटक सूर्यमुखीको खेती गरिएकाले कसरी उत्पादन बढाउने र सेवाको बारेमा अध्ययन गर्ने काम भइरहेको बताउनुभयो । किसानको उत्साहलाई सम्बोधन गर्दै बजारीकरणमा साथ दिइने सिलवालको भनाइ छ । प्रशोधन र बजारीकरणका लागि अनुभवी प्राविधिक ल्याएर अनुगमन गराएपछि यकिन गर्न सकिने सिलवालले बताउनुभयो ।