• ७ साउन २०८२, बुधबार

सन्दर्भ : ४७ औँ पुष्पलाल स्मृति दिवस

लोकतान्त्रिक आन्दोलनका धरोहर

blog

आज साउन ७, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव एवं लोकतान्त्रिक आन्दोलनका धरोहर पुष्पलालको ४७ औँ स्मृति दिवस । यो दिन उहाँप्रति श्रद्धासुमन अर्पण गर्ने, उहाँका योगदानको स्मरण गर्ने र उहाँले स्थापना गर्नुभएको राजनीतिक ‘लिगेसी’ लाई अगाडि बढाउने दिन हो ।

पुष्पलालको जीवनका कतिपय सन्दर्भ रुसी क्रान्तिका नायक लेनिनको जीवनसँग मिल्दाजुल्दा छन् । लेनिनका दाइ भ्लादिमिर उल्यानोभलाई जार अलेक्जेन्डर तृतीयका विरुद्ध राजद्रोहमा संलग्न भएको आरोपमा २१ वर्षकै उमरेमा फाँसी दिइएको थियो । त्यस घटनाले लेनिनलाई क्रान्तिमा संलग्न हुन प्रेरित गर्‍यो । पुष्पलालका दाजु गङ्गालाललाई पनि त्यसै गरी राणाशाहीको विरुद्ध राजद्रोह गरेको अभियोगमा २२ वर्षको उमेरमै मृत्युदण्ड दिइएको थियो र पुष्पलाल त्यसपछि क्रान्तिकारी आन्दोलनमा संलग्न हुन उत्प्रेरित हुनुभएको थियो । लेनिनको राजनीतिक जीवनको आरम्भ रुसी सामाजिक–जनवादी पार्टीबाट भए जस्तै पुष्पलालको राजनीतिक यात्रा पनि नेपाली राष्ट्रिय कांग्रेसबाट सुरु भएको थियो । लेनिनको राजनीतिक जीवनको अधिकांश हिस्सा निर्वासनमा बिते जस्तै पुष्पलालको राजनीतिक जीवनको अधिकांश समय भारतमा निर्वासनमा बितेको थियो । 

गङ्गालालको शहादत्तपछि कलिलो वयका पुष्पलालले कहिले नेपाल प्रजातन्त्र सङ्घ गठन गरेर त कहिले नेपाली राष्ट्रिय कांग्रेसमा आबद्ध भएर आन्दोलनलाई अगाडि बढाउने प्रयास गर्नुभयो । नेपाल प्रजातन्त्र सङ्घले राष्ट्रव्यापी पार्टीको स्वरूप ग्रहण गर्न सकेन । नेपाली राष्ट्रिय कांग्रेसको केन्द्रीय सचिव भएर काम गर्दै जाँदा उहाँ निष्कर्षमा पुग्नुभयो– यस पार्टीको नेतृत्वमा नेपालको राष्ट्रियताको आन्दोलनलाई सही रूपमा अगाडि बढाउन सकिँदैन । यससँग सामन्तवादलाई समूल अन्त्य गर्ने कार्यक्रम छैन । यसले समाजवाद निर्माणको नेपाली जनताको चाहनालाई पनि प्रतिनिधित्व गर्न  सक्दैन । त्यस अवधिमै उहाँको भारतका विभिन्न वामपन्थी नेताहरूसँग सम्पर्क भइसकेको थियो । सहकर्मीसँग मिलेर उहाँले कोलकता, दार्जिलिङलगायत ठाउँमा माक्र्सवादी अध्ययन मण्डल गरिसक्नुभएको थियो । उहाँले विश्वप्रसिद्ध ‘कम्युनिस्ट घोषणापत्र’ को नेपाली अनुवाद गरेर नेपालमा क्रान्तिकारी विकल्पका रूपमा कम्युनिस्ट पार्टी स्थापना गर्नु अनिवार्य रहेको निष्कर्ष निकाली सक्नुभएको थियो ।

यसै पृष्ठभूमिमा २००६ वैशाख १० गते (२२ अप्रिल १९४९) का दिन कोलकताको श्यामबजार–२८, नवीन सरकार लेनमा पुष्पलालको नेतृत्वमा निरञ्जन गोविन्द वैद्य, नारायण विलाश जोशी, नरबहादुर कर्माचार्य र मोतिदेवी सम्मिलित भएर नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो । पुष्पलाल उक्त पार्टीको संस्थापक महासचिव बन्नुभयो ।

यसरी नेपाल कम्युनिस्ट पार्टीका रूपमा नेपाली श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने राजनीतिक सङ्गठन निर्माण गर्नु, श्रमजीवी जनताका पक्षमा क्रान्तिकारी आन्दोलन अगाडि बढाउनु र समाजवादको गन्तव्य निश्चित गर्नु नेपालको राष्ट्रिय राजनीतिमा पुष्पलालको सबैभन्दा ठुलो योगदान हो ।

पुष्पलाल सामन्तवादका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने लोकतान्त्रिक अग्रज हुनुहुन्थ्यो । जहानियाँ राणाशासनका विरुद्ध उहाँ सम्पूर्ण रूपले होमिनुभयो । सात सालको क्रान्तिलाई निष्कर्षमा पुग्नै नदिएर राणा प्रधानमन्त्री मोहनशमशेरकै नेतृत्वमा सरकार बनाउने गरी दिल्ली सम्झौता गरिएकोमा उहाँले विरोध गर्नुभयो । दिल्ली सम्झौताको विरोध गर्ने डा. केआई सिंह, भीमदत्त पन्त, रामप्रसाद राईलगायतको विद्रोहलाई दमन गर्न भारतीय सुरक्षा फौज भिœयाइएकोमा नेपाल कम्युनिस्ट पार्टीको गम्भीर आपत्ति थियो । त्यसै बहानामा २००८ सालमा पार्टीमाथि प्रतिबन्ध लगाइयो, जुन बन्देज २०१३ सम्म कायमै रह्यो । २०१७ सालको तानाशाही कदमपछि त पुष्पलालले निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यका लागि आजीवन र सम्झौतारहित सङ्घर्ष गरिरहनु भयो । कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका कतिपय नेताले आत्मसमर्पण गरे तर कमरेड पुष्पलालले क्रान्तिको झन्डालाई कहिल्यै झुक्न दिनुभएन । कतिसम्म भने, उहाँको देहावसानपछि उहाँको अस्तु अन्तिम संस्कारका लागि नेपाल ल्याउँदासमेत तत्कालीन शासक भयभीत भए र अवशेष बोकेर आउने साथीहरूमाथि दमन गरियो । पुष्पलाल यसरी आजीवन सामन्तवाद विरोधी क्रान्तिकारी प्रतिरोधको झन्डा बनेर उभिनु भयो ।

पुष्पलाल नेपालमा संयुक्त जनआन्दोलनको प्रणेता हुनुहुन्थ्यो । २०१७ सालको तानाशाही कदमपछि उहाँले निरङ्कुश राजतन्त्रको अन्त्य र निर्दलीय पञ्चायतविरुद्ध संयुक्त जनआन्दोलनका लागि आह्वान गर्नुभयो । २०१९ सालमा आयोजित पार्टीको तेस्रो महाधिवेशनमा उहाँले ‘विघटित संसद्को पुनस्र्थापना’ लाई मुख्य माग बनाएर अगाडि बढ्न प्रस्ताव गर्नुभएको थियो, जबकि विघटित संसद्मा नेकपाका जम्मा चार जना प्रतिनिधि मात्रै थिए तर विडम्बना, नेपाली कांग्रेसले त्यस प्रस्तावलाई लामो समयसम्म बेवास्ता गरिरह्यो । पुष्पलालले आफ्नो जीवनकालमा त्यस प्रस्तावको कार्यान्वयन भएको देख्न पाउनु भएन । त्यो प्रस्ताव कति सही र दूरगामी महìवको थियो भन्ने कुरा २०४६ सालमा पुष्टि भयो, जब संयुक्त वाम मोर्चा र नेपाली कांग्रेसबिच सहकार्य भएर शान्तिपूर्ण जनआन्दोलन सम्पन्न भयो र त्यसले ३० वर्ष लामो निरङ्कुश व्यवस्थालाई पराजित ग¥यो । पुष्पलाल त्यति दूरदर्शी हुनुहुन्थ्यो ।

पुष्पलाल गहन अध्येता हुनुहुन्थ्यो र उहाँले नेपालको इतिहासलाई ऐतिहासिक भौतिकवादी आँखाले व्याख्या गर्नुभएको थियो । उहाँले कोलकातामा राष्ट्रिय पुस्तकालयमा अध्ययन गर्दै लामो समय लगाएर तयार गर्नुभएको ‘हिस्टोरिकल नोटस्’ नेपालको इतिहासको अध्ययनका लागि महत्वपूर्ण सन्दर्भ सामग्री हो । ‘नेपालमा मातृसत्तात्मक समाज,’ ‘नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र भविष्य’ तथा ‘नेपाली जनआन्दोलनको एक समीक्षा’ जस्ता उहाँका पुस्तकहरू नेपालको इतिहासको वस्तुनिष्ट र माक्र्सवादी दृष्टिकोणबाट विवेचना गरिएका महìवपूर्ण दस्ताबेज हुन् ।

‘संसारभर वामपन्थी आन्दोलन रक्षात्मक स्थितिमा रहँदा पनि तिमीहरूले यस्तो आश्चर्यजनक सफलता कसरी प्राप्त ग¥यौ ?’ विदेशी मित्रहरूले हामीसँग भेट्दा आमरूपमा जिज्ञासा राख्छन् । हुन पनि, दुनियाँमा दक्षिणपन्थी संस्कृति, नवउदारवादी अर्थनीति र अनुदार संस्कृति हाबी हुँदै गइरहेको बेला नेपालका वामपन्थीहरूले प्रतिस्पर्धात्मक लोकतान्त्रिक पद्धतिबाट हासिल गरेको यो उचाइ धेरैका लागि अपत्यारिलो विषय रहेको छ ।

यसमा कुनै आश्चर्य या रहस्य छैन । नेपाली कम्युनिस्ट आन्दोलनको उद्भव जस्तो पृष्ठभूमिमा भयो र ७० वर्षको आरोह–अवरोहपूर्ण यात्रामा यसले जुन मूल्यहरूको विकास र जस्तो दिशाको अवलम्बन गर्‍यो, यसले नै कम्युनिस्ट आन्दोलनलाई समाजको सर्वाधिक लोकप्रिय, रूपान्तरणकारी र नेतृत्वदायी शक्तिका रूपमा स्थापित गरिदिएको छ । यसका विकास र उपलब्धिका आधारहरू यसले खेल्दै आएका भूमिकाद्वारा नै निर्दिष्ट छन् । 

‘नागरिक स्वतन्त्रता सबैलाई आवश्यक, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊँ’ आफ्नो पहिलो पर्चामार्फत नेपाल कम्युनिस्ट पार्टीले राणाशासनविरुद्ध विद्रोह गर्न नेपाली जनतालाई गरेको आह्वान थियो यो अर्थात् नेपाली कम्युनिस्ट आन्दोलन आरम्भदेखि नै लोकतान्त्रिक आन्दोलनको अविभाज्य र महत्वपूर्ण अङ्गका रूपमा स्थापित भयो । लोकतन्त्र प्राप्तिका लागि यसले सात दशक लामो बलिदानी सङ्घर्ष गर्‍यो । संसारका कतिपय कम्युनिस्ट समूहहरू लोकतन्त्रका बारेमा दिग्भ्रमित र विचलित रहे । सोभियत ढाँचाको प्रणालीमा ‘सर्वहारा अधिनायकत्व’ का नाममा स्थापित एकदलीय व्यवस्थालाई सबै ठाउँमा लागु हुने क्रान्तिकारी सिद्धान्त र समाजवादको एक मात्र ढाँचा ठान्ने गल्ती गरे । नेपालको कम्युनिस्ट आन्दोलन एकाध अपवादलाई छाडेर सधैँभरि लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रह्यो । सात सालको क्रान्तिताका सहयोगी भूमिकामा सीमित र परिवर्तनपछिका सरकारद्वारा उपेक्षित एवं प्रतिबन्धित पार्टी २०४६ सालसम्म लोकतान्त्रिक आन्दोलनको सहनेता र मुख्य शक्तिका रूपमा स्थापित हुनुमा यही कारणले भूमिका खेलेको थियो । २०६२/६३ को आन्दोलनसम्म आइपुग्दा यो पार्टी लोकतन्त्रको मुख्य नेता र निर्णायक शक्तिका रूपमा स्थापित भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको सफलतालाई बुझ्नका लागि यसले लोकतन्त्र प्राप्तिमा खेलेको भूमिकालाई देख्न सक्नु पर्छ । 

यसमा पुष्पलालले विकास गर्नुभएका नीतिको विशेष योगदान छ । कम्युनिस्ट पार्टीले उदार लोकतन्त्रका सीमालाई निक्र्योल ग¥यो, यिनीहरू पर्याप्त छैनन् भन्ने कुरा स्थापित गर्‍यो र लोकतन्त्रमा सामाजिक न्यायलाई जोड्ने काम गर्‍यो । महिला अधिकार र समानता, मजदुरका निम्ति सम्मानजनक काम, ट्रेड युनियन र श्रम अधिकार, किसानलाई भूमि अधिकार, दलितलाई समानता, अन्य सीमान्तकृत समुदायका लागि राज्यमा विशेष व्यवस्था र सामाजिक सुरक्षा जस्ता विषय आज जसरी संविधानमा स्थापित भएका छन्, त्यसको श्रेय निर्विवाद ढङ्गले वामपन्थी आन्दोलनलाई जान्छ । नेपाली कम्युनिस्ट आन्दोलनको अर्को विशेषता के रह्यो भने यसले जनताका दैनन्दिनका सरोकारका मुद्दामा आफूलाई जहिल्यै अग्रपङ्क्तिमा उभ्यायो । जनताको जीवनसँग प्रत्यक्ष जोडिएका मुद्दाहरू– स्थानीय सामन्तहरूबाट हुने शोषण–उत्पीडन, महँगी, भ्रष्टाचार, सार्वजनिक जग्गा कब्जा, महिला र दलितमाथिका अत्याचारलगायत मुद्दामा स्थानीय सङ्घर्ष सञ्चालन ग¥यो । पुष्पलालले ‘पार्टीलाई किसानहरूका माझ बसोबास गराऊ’ भन्ने आह्वानमार्फत पार्टीलाई जनतासँग जोड्न विशेष योगदान गर्नुभएको थियो । 

नेपाल जस्तो मुलुकका लागि राष्ट्रियता संवेदनशील र महत्वपूर्ण मुद्दाका रूपमा रहेको छ । हाम्रो सन्दर्भमा राष्ट्रियताको प्रश्न अचेल केही ‘बौद्धिक’ ले चर्चा गरे जस्तो कुनै जात, धर्म या समुदायको श्रेष्ठता सिद्ध गर्ने र अरूलाई घृणा गर्न उक्साउने विषय होइन । यो त एउटा सार्वभौम राष्ट्रका रूपमा नेपालले आफ्नो सीमा र भौगोलिक अखण्डताको रक्षा गर्न पाउँछ कि पाउँदैन, संविधान निर्माण, शासन प्रणाली, विकासको ढाँचा र विदेश सम्बन्ध जस्ता विषय आफैँ निर्णय गर्न पाउँछ कि पाउँदैन र विश्व मानचित्रमा स्वतन्त्र, असंलग्न र सम्प्रभु राष्ट्रको रूपमा विकसित हुन पाउँछ कि पाउँदैन भन्ने निर्णायक प्रश्न हो । शक्ति राष्ट्रहरूले ‘मेरो राष्ट्रिय हित’ भन्दा लाग्ने अर्थ र नेपाल जस्तो देशले आफ्नो ‘राष्ट्रिय हित’ भन्दा लाग्ने अर्थको भिन्नता नछुट्याइ राष्ट्रियताप्रति नकारात्मक भाव सम्प्रेषण गर्नु प्रकारान्तरले राष्ट्रिय हितको तिलाञ्जली गर्नु हो । कम्युनिस्ट आन्दोलनले एकातिर सबै जातजाति, भाषाभाषी र संस्कृतिमा आबद्ध नेपाली जनताको एकतालाई राष्ट्रका रूपमा परिभाषित गर्दै समानताको लडाइँ लड्दै आयो भने अर्कोतिर सार्वभौम राष्ट्रका रूपमा आफ्नो भूमिको रक्षा र आन्तरिक विषयमा बिनाहस्तक्षेप आफैँ फैसला गर्न पाउने स्वनिर्णयको अधिकारका लागि लड्दै आयो, बाह्य हस्तक्षेपको विरोध गर्दै आयो । 

यसमा पनि पुष्पलालको विशेष योगदान छ । यिनै योगदान हुन्, जसले निधनको ४७ वर्षपश्चात् पनि पुष्पलाललाई नेपाली जनताको हृदयमा अत्यन्त सम्मानित स्थानमा राखेको छ । नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका धरोहर पुष्पलालप्रति हार्दिक श्रद्धासुमन ।