बेइजिङ, साउन ७ गते । चीनले आगामी साता स्टकहोममा हुने व्यापार वार्तामा संयुक्त राज्य अमेरिकासँग ‘समन्वयलाई सुदृढ’ बनाउने प्रयास गर्ने बुधबार जनाएको छ । वासिङ्टन र बेइजिङले यस वर्षको सुरुमा एकअर्काको निर्यातमा बढ्दो, प्रतिशोधात्मक कर लगाउने घोषणा गरेका थिए ।
प्रतिशोधात्मक करको वृद्धि तीन अङ्कमा पुगेपछि सम्झौताको वातावरण बनाउन भन्दै दुबै पछि हटेका थिए । त्यसअघि विवाद चुलिँदै जाँदा विश्वका दुई ठुला अर्थव्यवस्थाहरू बिचको व्यापार अवरुद्ध भएको थियो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आगामी साता स्टकहोममा आफ्ना चिनियाँ समकक्षीसँग भेट्ने बताउनुभएको छ । “तेस्रो चरणको उच्चस्तरीय वार्ताले अगष्टको मध्यसम्ममा लेभीको समयसीमा स्थगन हुने सम्भावना देखिएको छ,” बेसेन्टले फक्स बिजनेससँग बताउनुभयो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले वार्तामा दुवै पक्षले समानता, सम्मान र पारस्परिक लाभका आधारमा मिलेर काम गर्न सक्ने आशा गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामी सहमति बढाउने छौँ, असमझदारी कम गर्ने छौँ, सहयोगलाई बलियो बनाउने छौँ र चीन-अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासलाई बढावा दिने छौँ ।
चीनका उपप्रधानमन्त्री दसईपक्षबिच स्वीडेनको राजधानी स्टकहोममा हुने वार्तामा सहभागी हुने कार्यक्रम रहेको छ । “हे लाइफङ वार्ताका लागि जुलाई २७ देखि ३० सम्म स्वीडेनमा रहनुहुनेछ,” वाणिज्य मन्त्रालयका प्रवक्ताले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । गत मे महिनामा जेनेभामा उच्च अधिकारीहरूको बैठकपछि दुवै पक्षले कर वृद्धिको स्तर घटाउन अस्थायी रूपमा सहमत भएका थिए । गत जुनमा लन्डनमा पनि दुई देशका अधिकारीबिच भेटवार्ता भएको थियो ।
-समय सीमाबारे दृष्टिकोण-
बेसेन्टका अनुसार वासिङ्टनले इरानी र रुसी तेलको चिनियाँ खरिदलगायत विविध विषयमा पनि कुरा गर्न चाहेको थियो । संयुक्त राज्य अमेरिका र चीनबिचको व्यापार वार्ता जेनेभा बैठकपछि सुरुमा रोकिएको थियो, यद्यपि अहिले बेइजिङसँग व्यापार राम्रो स्थानमा रहेको बेसेन्टले जनाएको छ ।
अमेरिकी अधिकारीहरूले यसअघि बेइजिङले आफ्नो सम्झौता उल्लङ्घन गरेको र इलेक्ट्रोनिक्स र अन्य सामानहरू बनाउनका लागि महत्त्वपूर्ण सामग्रीहरू दुर्लभ खनिजहरूका लागि निर्यात इजाजतपत्र अनुमोदनहरू ढिलो गरेको आरोप लगाएपछि असहमतिहरू बाहिर आएका थिए । त्यसयता दुवै देशले जेनेभा सहमतिमा अघि बढ्ने फ्रेमवर्कमा सहमति जनाएका छन् ।
संयुक्त राज्य अमेरिकाले चीनलाई सेमी कन्डक्टर बिक्रीमा केही प्रतिबन्धहरू खुकुलो पारेको देखिएको छ, जबकि बेइजिङले नियन्त्रित वस्तुहरूको निर्यात इजाजतपत्रका लागि आवेदनहरूको पुनरावलोकन गरिरहेको छ । जनवरीमा ह्वाइट हाउसमा पुनः फर्केपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र राष्ट्रहरू र प्रतिस्पर्धीमाथि समान रूपमा १० प्रतिशत कर लगाउनुभएको छसाथै स्टील, आल्मुनियम र अटोमा उच्च स्तरमा कर लगाइएको छ । अगष्ट १ देखि चीनका लागि नभए पनि दर्जनौं अर्थतन्त्रका लागि १० प्रतिशतको करवृद्धि दर बढ्ने अपेक्षा गरिएको छ । रासस/एएफपी