गजेन्द्र गुरुङ
खजुरा, साउन ७ गते । बाँकेमा सवारी दुर्घटनाका घटनामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०–८१ मा भन्दा गत आर्थिक वर्ष २०८१–८२ मा उल्लेखीय मात्रामा सवारी दुर्घटनाका घटना भएको तथ्याङ्क छ ।
दुर्घटना हुनुको मुख्य कारण चालकको लापरबाही छ । जिल्ला ट्राफिक कार्यालय कोहलपुर बाँकेका अनुसार जिल्लाका विभिन्न स्थानमा गरी गत आवमा ५७७ वटा सवारी दुर्घटना भएका छन् ।
जसमा ८५२ वटा सवारी साधन संलग्न छन् । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न छन् । मोटरसाइकल ४८५, टेम्पो १०५, जिप कार ८०, साइकल ६४, बस ३२, ट्रक ट्याङ्कर ३१, माइक्रो २३, ट्याक्टर १६, टिप्पर ८, अन्य ७ र डोजर÷लोडर÷स्काभेटर १ गरी ८५२ सवारीसाधन दुर्घटनामा परेका हुन् ।
उक्त दुर्घटनामा परी ५५ पुरुष, १० महिला, ४ बालक र १ बालिका गरी ७० जनाको ज्यान गएको छ । जसमा १४२ जना गम्भीर र ७८४ जना सामान्य गरी ९२६ जना नागरिक घाइते भएका हुन् । उक्त दुर्घटनामा परी २२ पशुचौपायाको मृत्यु भएको छ भने ७ घाइते भएको उक्त तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष ०८०–८१ मा जिल्लामा जम्मा १५८ वटा दुर्घटनाका घटना भएका थिए, जसमा २२४ वटा सवारीसाधन संलग्न रहेका थिए । उक्त वर्ष ४८ पुरुष, १६ महिला र २ बालक गरी ६६ जनाको मृत्यु भएको थियो । १०८ जना गम्भीर र १०४ जना सामान्य गरी २१२ जना नागरिक घाइते भएको बाँके ट्राफिकको तथ्याङ्क रहेको छ । उक्त वर्ष दुर्घटनामा परी १२ पशुचौपायाको मृत्यु भएको थियो ३ वटा घाइते भएका थिए ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०–८१ मा भन्दा गत आवमा जिल्लामा धेरै सवारी दुर्घटना भएका छन् भने मृत्यु र घाइते हुनेको सङ्ख्यमा पनि वृद्धि भएको छ । बाँके ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्त गत आवको पुस महिनादेखि साना साना दुर्घटना पनि तथ्याङ्कमा समेट्न लागेपछि सङ्ख्यामा वृद्धि भएको बताउनुहुन्छ ।
“हामीले अघिल्लो आवसम्म ठुला ठुला दुर्घटना मात्र तथ्याङ्कमा राख्ने गर्थ्याैं तर गत आवको पुस महिनादेखि साना साना दुर्घटना पनि तथ्याङ्कमा समावेश गर्न थालेपछि सङ्ख्यामा वृद्धि भएको देखिएको हो ।”
ट्राफिक प्रमुख पन्तले भन्नुभयो, “दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकलको सङ्ख्या छ, अधिकतम घटनाहरुमा चालकको लापरबाही नै हो, मापसे, बिनाहेलमेट, तीव्र गति, लेनविपरीत, दुई जनाभन्दा बढी चढाउने, ट्राफिक नियमितविपरीत सवारी चलाउँदा बढी दुर्घटना भएको तथ्याङ्क छ ।”
अन्य सवारी दुर्घटनामा पनि मुख्यतः चालकको लापरबाही, मापसे, तीव्र गति, अनावश्यक प्रतिस्पर्धा, क्षमताभन्दा बढी यात्रु चढाउने, हेलचेक्र्याइँबाट हुने गरेको उहाँले बताउनुभयो । त्यसैगरी यान्त्रिक खराबी, सहचालकले चलाउनु, सडकको खराब अवस्था, यात्रुहरु पनि जहाँ त्यहीँबाट सडक वारपार गर्नु, सडक र लेन अनुशासन नमान्नु लगायतका कारणबाट पनि सवारी दुर्घटना हुने गरेका छन् ।
बाँके ट्राफिकले गत आवमा नियमविपरीत चलेका ३७ हजार ४३५ विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ जसबाट तीन करोड दुई लाख ६७ हजार ५०० रुपियाँ रावस्व सङ्कलन भएको छ । आव ०८०–८१ मा ३१ हजार १५९ सवारीसाधन कारबाही हुँदा दुई करोड ४४ लाख २७ हजार रुपियाँ राजस्व सङ्कलन भएको तथ्याङ्क रहेको छ ।
त्यसैगरी गत आवमा २५५५ पटक विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिएको र त्यसबाट २,३२,१८७ जना नागरिकहरु लाभान्वित भएको ट्राफिकले जनाएको छ । आव २०८०–८१ मा २३२६ पटक सचेतनाका कार्यक्रम गरिएको र जसबाट १,२०,३६५ जना नागरिक लाभान्वित भएको बाँके ट्राफिकको तथ्याङ्क छ ।