धर्बेन्द्र झा
जनकपुरधाम, साउन ७ गते । सहरी विकास मन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले अतुलनिय महत्त्व रहेको जनकपुरधामको सीता पुष्पवाटिका (मणिमण्डप) लाई हिन्दु धर्मावलम्बीका लागि विवाह स्थलको रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।
सङ्घिय सहरी विकास तथा भवन निमार्ण कार्यालय जनकपुरधाम धनुषाद्वारा जनकपुरधाम उपमहानगरपालिका-१३ मा निमार्ण गरिएको सीता पुष्पवाटिका (मणिमण्डप)को उद्घाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले त्रेता युगमा भगवान् राम र जगतजननी सीताको विवाहका लागि भगवान् विश्वकर्माले मणी जरीत मण्डप निमार्ण गरेकै कारण यस स्थलको नाँउ मणिमण्डप परेको जनविश्वास रहेको बुझन आएकोले यसको समुचित विकासका लागि मन्त्रालयले विभिन्न खालका संरचनाहरू निमार्ण गरेको बताउनुभयो ।
उहाँले यस स्थललाई सक्रिय स्वरूपमा ल्याउनका लागि तिनै तहका सरकारले काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले यस ऐतिहासिक स्थललाई प्रचार प्रसार गरी विश्वमानै पहिचान दिलाउनका लागि हामी सबै दतचित भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले यस स्थलको साैन्दर्य वृद्धिका लागि बाँकी रहेका काम गर्नका लागि हामी अगाडि बढने बताउँदै खडा भएको यस संरचनाको सम्वर्धनका लागि स्थानीयवासीको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यस एतिहासिक स्थललाई विवाह स्थलको रूपमा प्रचार प्रसार हुनु पर्नेमा जोड दिनु भयो । उहाँले यसलाई विवाह स्थलको रूपमा प्रचारप्रसार भएमा जनकपुरधाममा पर्यटकको आगमन बढ्ने र यसले देशको अर्थतन्त्रमा ठुलो मद्दत पुग्ने बताउनुभयो।
"अहिले पनि यस ठाँउमा आउने पर्यटकलाई टिकाउनका लागि पूर्वाधारको अभाव रहेको भन्दै सङ्घ सरकारले खुला हृदयले यस क्षेत्रमा लगानी गर्नुपर्ने छ", उहाँले भन्नुभयो । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्री एवम पुर्व मन्त्री महेन्द्र यादव, नेपाली कांग्रेसका नेता एवम राष्ट्रिय सभा सदस्य आनन्द ढुङ्गाना सहितकाले मणिमण्डप भगवान् राम सीताको वैवाहिक स्थल रहेको भन्दै यसको प्रचारप्रसार आवश्यक रहेको उहाँको भनाइ छ ।
सीतापुष्पबाटिका(मणिमण्डप) आयोजना अन्तर्गत यस क्षेत्रमा सुविधा सम्पन्न प्यालेश भवन सहित दुई वटा धर्मशाला, दुई वटा पभेलियन निमार्ण गरिएको छ । प्यालेस भवनमा ७० जना अटाउने हल सहित १६ वटा बेडरुम, एउटा डायनिङ हल, एउटा किचेन, एउटा म्युजियम ओसफिस, एउटा टिकट काउन्टर कोठा, दुई वटा स्टोर कोठा सहितका संरचनाहरू रहेको छ ।
त्यसैगरी दुई वटा सुविधा सम्पन्न धर्मशाला जसमा १३ वटा डोरमिटोरी रुम ,एउटा डाइनिङ हल, एउटा किचेन, विवाहमण्डप, दुई वटा पवेलियम र १० कोठे पसल रहेको सङ्घीय सहरी विकास तथा भवन निमार्ण कार्यालयका निमित प्रमुख विनोद यादवले कार्यक्रममा जानकारी दिनुभयो । उहाँले सीतापुष्पबाटिका(मणिमण्डप) आयोजना अन्तर्गतकाे संरचनाहरू निमार्ण गर्दा हाल सम्ममा १८ करोड ५३ लाख २१ हजार रुपैया खर्च भइसकेको जानकारी दिनुभयो ।