सिराज खान
नेपालगन्ज, साउन ७ गते । नेपालगन्ज उपमहानगरपालिका ३, एक्लैनीकी आठ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सोही ठाउँका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति सोही ठाउँ बस्ने ५५ वर्षीय गुडडु हल्वाई रहेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणीसम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको टोलीले हल्वाईलाई नियन्त्रणमा लिएको हो । पीडित बालिकालाई तत्कालै उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको थियो । चिकित्सकका अनुसार बालिकाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दीपक पातलीले घटनाको गम्भीरता र बालिकाको उमेरलाई ध्यानमा राख्दै मुद्दा दर्ता गरी हाल आरोपी हल्वाईमाथि कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
उहाँले घटनाको थप अनुसन्धान पनि भइरहेको जनाउनुभएको छ । दोषीलाई कडा कारबाहीको माग गर्दै नेपालगन्ज ३ एकलैनीका स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।