• ८ साउन २०८२, बिहिबार

ठूलीभेरीमा खसेको टिप्पर भेटियो, मान्छे भेटिएनन्

blog

ठूलीभेरी नदीमा फेला परेको टिप्पर निकालिँदै । तस्बिर : गोरखापत्र

राजु लामिछाने 

रुकुमपश्चिम, साउन ७ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १४ पिपलचौरस्थित भेरी करिडोर अन्तर्गतको सडकखण्डबाट ठूलीभेरी नदीमा खसेको टिप्पर फेला परेको छ ।

टिप्परसँगै खसेका तीन जना मान्छे भने अझैसम्म फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार हिजो (मङ्गलबार) साँझ ठूलीभेरी नदीमा खसेको यति बिल्डर्स प्रालिको टिप्पर घटनास्थलभन्दा करिब चार सय मिटर तल नदीमै फेला परेको छ । 

उहाँका अनुसार टिप्परमा रहेका तीन जनाको अवस्था भने अझैसम्म पत्ता लागेको छैन । उनीहरु नदीमै बेपत्ता भएको अनुमान छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रमेश बिष्टसहितको टोली परिचालन भएको छ ।

अहिले नदीमा देखिएको टिप्पर निकाल्नका साथै बेपत्ताहरुको खोजी कार्य भइरहेको छ । टिप्पर जाजरकोटपट्टिको भागमा फेला परेको हो । 

आठबिसकोट नगरपालिका ११ चिसापानीबाट वडा नम्वर १४ को छेपारेतर्फ आँउँदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर ठूलीभेरी  नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका थिए । 

बेपत्ता हुनेहरुमा टिप्पर चालक दाङका ३५ वर्षीय मनिराम चौधरी, यति बिल्डर्सका जेसिबी चालक रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-३ का धनवीर बिक र हेल्पर रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ का हरि बिक रहेको प्रहरीले जनाएको छ । प्रहरी, यति बिल्डर्सको कर्मचारी टोली, स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।