काठमाडौँ, साउन ७ गते। नेपाल चिकित्सक सङ्घले सङ्घसँग भएको सहमति कार्यान्वयनका लागि गम्भीर हुन सम्पूर्ण सरोकारवाला निकायलाई आग्रह गरेको छ।
संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गर्दै संघसँग भएको सहमति कार्यान्ययनका लागि गम्भिर हुन सरोकारवाला निकायलाई आग्रह गर्नुभएको हो।
उपभोक्ता संरक्षण ऐन लगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको संशोधनको माग गर्दै आन्दोलनरत चिकित्सकसँग सरकारले असार २४ गते तीनबुँदे सहमति गरेको थियो।
उक्त सहमति अनुसार विभिन्न सरोकारवाला मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदलद्वारा कानुन संशोधनको विषयमा सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने भनी उल्लेख गरिएको भए तापनि हालसम्ममा पनि ठोस प्रतिफल नदेखिएकोले सो कार्यदल पूर्ण रुपमा निस्क्रिय रहेको संघको ठहर छ।
सरकारमा रहेका उच्चपदस्थ अधिकारीसँग भएको सहमति समयमा पालना नहुँदा उक्त पदाधिकारीको मौखिक वा लिखित प्रतिबद्धतामाथि भविष्यमा समेत विश्वास गर्ने कुनै आधार नरहेको र यसबाट सरकारको विश्वसनीयता पनि गुम्ने स्थिति सिर्जना हुने प्रति संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
सरोकारवाला निकाय सहमति कार्यान्वयनमा गम्भीर नभई आन्दोलनका लागि बाध्य पार्ने स्थिति सिर्जना गरिएमा अबको आन्दोलनको स्वरुप थप सशक्त हुने चेतावनी दिएको छ।