• ७ साउन २०८२, बुधबार

‘स्थायित्व ल्याउन एमालेसँग मिलेर सरकार’

blog

होमराज रानाभाट 

कावासोती, साउन ७ गते । नेपाली कांग्रेसका सहमहामन्त्री तथा संस्कृति, पर्यटन नागरिक तथा उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेस मुलुकमा स्थायित्व ल्याउन एमालेसँग मिलेर सरकारमा सहभागी भएको बताउनुभएको छ । 

जननायक बिपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा मङ्गलबार कावासोतीमा आयोजित वर्तमान सन्दर्गमा बिपी विचार विषयक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले मुुलुुकमा स्थायित्व र शान्तिसुरक्षाको प्रत्याभूति दिन कांग्रेस र एमालेको सरकार अपरिहार्य रहेको बताउनुभयो । उहाँले कांग्रेस र एमालेको गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहने दाबी पनि गर्नुभयो । 

पार्टीका सहमहामन्त्रीसमेत रहनुभएका पाण्डेले बिपीले अँगालेको बाटो कांग्रेसले छोडेको भन्ने भ्रम फैलाइएको तर कांग्रेस बिपीको विचारबाट विचलित नभई अगाडि बढिरहेको स्पष्ट पार्नुभयो । बिपी विचार र आजको कांग्रेस एक ठाउँमा उभिएर अघि बढेको भन्दै मन्त्री पाण्डेले अहिले जन्मेका केही दलले छरेको भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । 

मन्त्री पाण्डेले अहिले केही पार्टी र तिनका नेता मुलुकमा अस्थिरता ल्याउन उद्धृत रहेको बताउँदै जनताको विश्वास जितेर अघि बढेमा मुलुकमा स्थिरता र विकास हुनेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकारले जनताको जनभावना अनुरूप काम गर्नुपर्ने स्पष्ट पार्दै नेपाली कांग्रेस जस्तो देश र जनताको पक्षमा काम गर्ने अरू दल नभएको बताउनुभयो । उहाँले कांग्रेस नेपालको सबैभन्दा पुरानो दल भएको र यसले बिपीको मार्गचित्रलाई अनुसरण गरेर अघि बढेको उल्लेख गर्नुभयो । सो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसीले नेपाली कांग्रेस मात्र समाजवादको पर्यायका रूपमा स्थापित पार्टी भएको बताउनुभयो ।