• ७ साउन २०८२, बुधबार

तमोरले रानीपुलको बेलिब्रिज बगाउँदा यातायात अवरुद्ध

blog

तमोर नदीमा आएको बाढीको दृश्य । तस्बिर सौजन्य : गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)

चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ७ गते ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर कोरिडोर सडक जोड्ने बेलिब्रिज बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ । मङ्गलबार राति वर्षासँगै तमोर नदीमा आएको बाढीले मोटर गुड्ने बेलिब्रिज बगाउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको हो ।

फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार वडा नम्बर ५ तापेथोक र वडा ६ लेलेपको पुछार रानीपुलमा रहेको बेलिब्रिज बाढीले बगाएको हो । भीषण वर्षासँगै तापेथोकको हेल्लोक सिम्बुवा खोलामा आएको बाढीका कारण तमोर नदीमा पानीको बहाब बढेपछि बेलिब्रिज बगाएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

रानीपुलस्थित तमोर नदीको बेलिब्रिज बाढीले बगाएसँगै हाल यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । उहाँका अनुसार बेलिब्रिज तमोर नदीले बगाएपछि तमोर कोरिडोर सडक अवरुद्ध हुँदा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप र वडा ७ ओलाङ्चुङगोलातर्फका यात्रु तथा सेवाग्राहीले यातायात सुविधाबाट बञ्चित हुनुपरेको छ । तमोर नदीले बगाएको रानीपुलको बेलिब्रिज रेमिट हाइड्रोपावर लिमिटेडले निर्माण गरेको थियो ।

यस्तै, मङ्गलबार रातिको वर्षाले फक्ताङ्लुङ गाउँपालिकाका अन्य क्षेत्रमा पनि बाढी र पहिरोले क्षति गरेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार वडा ४ इखाबुको बिपुधापमा पहिरोले वडा सदस्य कमला लिम्बूको घरलाई क्षति गरेको छ । त्यस्तै गाउँपालिकाको प्रशासकीय केन्द्र नजिक रहेको सिसाँवा खोलामा आएको बाढीले मोटरसाइकल र मानिस आउजाउ गर्ने काठेपुल बगाएको छ ।

सिसाँवा खोलामा बाढी आउँदा ढुङ्गा माटोसहित बगर थुप्रिँदा सो क्षेत्रमा पनि तमोर कोरिडोर सडक अवरुद्ध हुन पुगेको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभित्र थुप्रै ठाउँ सानातिना पहिरो गएको छ भने अधिकांस ग्रामीण सडक पनि अवरुद्ध भएका छन् । त्यस्तै पाक्न लागेको मकै बाली र कुनै ठाउँ भर्खरै रोपाइँ गरिएको धान खेतीमा क्षति पुगेको छ । उहाँले वर्षापछिको बाढी पहिरोले पुर्‍याएको क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको बताउनुभयो ।