• १८ असार २०८१, मङ्गलबार

हराउँदै काठका भाँडा

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, जेठ ३० गते । सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा परम्परागत रूपमा प्रयोग हुने गरेको काठका भाँडा लोप हुँदै गएका छन् । घरेलु रूपमा प्रयोग हुने काठका भाँडाको सट्टामा बजारमा किन्न पाइने आधुनिक सामानको प्रयोग बढ्दै गएपछि काठका भाँडा लोप हुँदै गएका हुन् । प्लास्टिक, आल्मुनियम र सिल्भरका भाँडाको प्रयोग बढ्दै गएपछि गाउँघरमा प्रयोग हुने काठका ठेकी, हर्पे, कुरुवा, पाथीजस्ता काठको भाँडा लोप हुँदै गएको स्थानीय बासिन्दा बताउँछन् ।

झन्डै दुई दशकदेखि काठको भाँडा बनाउँदै आउनुभएका गोलान्जोर गाउँपालिका–५ रतनचुरा निवासी रामबहादुर विक अहिले काठको भाँडा बनाउँदा आउने आम्दानीले घरपरिवार नै चल्न छाडेको गुनासो गर्नुहुन्छ । “हामीले बनाउने काठका भाँडाको सट्टामा प्रयोग हुने बजारमा किन्न पाइने सामान सस्तो पर्ने भएकाले उपभोक्ता पनि उतै आकर्षित भएका छन्,” उहाँले भन्नुभयो, “पहिले काठका भाँडा बनाउँदा वर्षभरिमा झन्डै एक लाख रुपियाँभन्दा बढी कमाई हुन्थ्यो, अहिले २० हजार रुपियाँ पनि कमाई हुँदैन ।”

“मेहनतअनुसार भाँडाको मूल्य त लिनै प¥यो तर उपभोक्ताले त्यो मूल्य बढी भयो भनेर सामान लैजान चाहँदैनन्,” चुँदार रामबहादुरले भन्नुभयो, “खोलामा भाँडी बनाएर जङ्गल गई काठ खोजेर ल्याई भाँडा बनाउन त्यति सजिलो छैन । ग्राहकले सित्तैमा बनाएजस्तै सस्तो मूल्यमा भाँडा लैजान खोज्छन्, त्यो मूल्यमा हामी दिन सक्दैनौँ ।” काठकै भाँडा बनाउँदा हुने आम्दानीले वर्षभरिका लागि घर खर्च टर्ने गरेकोमा अहिले घर खर्चका लागि अर्को काम गर्नुपर्ने बाध्यता रहेको  उहाँको गुनासो छ । 

कमलामाई नगरपालिका–३, चपौली निवासी कमलप्रसाद सिग्देल काठका भाँडाको अझै महìव रहेको बताउनुहुन्छ । “महìव बुझ्नेले जति महँगो भए पनि अझै काठको भाँडा नै प्रयोग गर्न छाडेका छैनन्,” उहाँले भन्नुभयो, “काठको भाँडाको गोरसको स्वाद नै मीठो हुन्छ । मैले त काठको भाँडा प्रयोग गर्न छाडेको छैन ।” पाँच वर्षअघिसम्म गाउँमा काठको भाँडा बनाउने पेसामा संलग्न चुँदार तीन जना भए पनि अहिले सबैले पेसा छाडेर अन्य काम गर्दै आएको उहाँले बताउनुभयो ।