• २० असार २०८१, बिहिबार

सडकमा भोगिने सास्ती

blog

मनसुन भित्रिने क्रमसँगै बाटाघाटा तथा सडकहरूमा वर्षाले गर्दा हिलो, चिप्लो आदि भएर हिँड्डुल गर्न असहज हुनु स्वाभाविकै हो । यसर्थ मनसुन भित्रिने क्रमसँगै अर्थात् वर्षा याम सुरु हुनु अगावै बाटाघाटा तथा सडक निर्माण कार्यलाई सम्पन्न गरिसक्नु पर्छ । सम्बद्ध निकाय यसमा चनाखो हुनुपर्छ । यो सबैले जानेका तथा बुझेका तथ्य नै हो तर राजधानी काठमाडौँलगायत मुलुकका विभिन्न भागमा वर्षा याममा नै सडकमा खाल्डा खन्ने गरिएको छ । सडक बिगारेर झनै दुःख दिने प्रवृत्ति विगत केही समयदेखि बढी नै देखिन थालेका छन् ।

यसरी वर्षा याममा सडक तथा बाटाघाटा निर्माण अनि मर्मत गर्दा वर्षालाई दोष दिएर कमसल गुणस्तरका सामग्री प्रयोग गर्ने प्रवृत्ति ठेकेदारहरूमा व्यापक छ भन्ने आमगुनासो छ । यसै कारण राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा यस्ता समस्या बल्झिँदै गएको पाइन्छ । राजधानी र वरिपरिकै क्षेत्रमा यस्ता समस्या निकै देख्न पाइन्छ भने मुलुकका अन्य क्षेत्रमा यस्ता समस्या कुन हदसम्म होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ । 

 उपत्यकामै एउटा एक हजार चार सय मिटर अर्थात् झन्डै डेढ किलोमिटर सडक नाला निर्माणका लागि गत साल जेठ महिनामा २८ करोड ७४ लाख रुपियाँमा ठेक्का दिइएको हो । यही असार २० गतेसम्म निर्माण कार्य सम्पन्न भइसक्नुपर्नेमा हालसम्म जम्मा २० प्रतिशत मात्र काम भएको पाइएको छ । यसका निम्ति सडकका दुवैतर्फ सडक खनिएको छ । सडकको बीचमै खाल्डो पारिएको छ । सवारी साधन त के मानिस हिँड्नसमेत नमिल्ने अस्तव्यस्तपूर्ण अवस्था देखिन्छ ।

स्थानीयवासीलाई विशेषगरी वर्षा याममा आवतजावत गर्न निकै नै कष्टपूर्ण अवस्था छ । स्कुले नानी तथा बटुवाहरू यो क्षेत्रमा दुर्घटनामा पर्ने सम्भावना बढ्दो छ । यो दृष्टान्त हो काठमाडौँ बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १०, ११ र १२ तथा काठमाडौँ महानगरपालिका वडा नं ६ मा पर्ने क्षेत्रको । राजधानीमा नै यस प्रकारको बेथितिले प्रश्रय पाइरहेको यो विकृत नमुना हो । एक वर्ष अर्थात् यही असार २० गतेभित्र सम्पन्न गरिनुपर्ने ठेक्काको हालसम्म २० प्रतिशतसम्म कार्य मात्र सम्पन्न हुनु वास्तवमा दुःख लाग्दो विषय हो । 

अनियमितता तथा लापरबाहीको अनुपम नमुना यस ठेक्कामा ठेकेदार, अनुगमन गर्ने सरकारी निकायलगायत सबै दोषका भागी रहेको स्पष्ट छ । यस्तै प्रवृत्तिका कारण मुलुकका हरेक परियोजना समयमा सम्पन्न नहुने मात्र होइन कुल लागतमा समेत वृद्धि भइरहेको हुन्छ ।

यस्ता विसङ्गतिप्रति सम्बन्धित सरकारी पक्षले कडाइका साथ प्रस्तुत हुनैपर्ने आवश्यकता देखिएको छ । यस्ता प्रवृत्तिलाई निरुत्साहित गरेर मुलुकमा उत्तरदायीपूर्ण निर्माण संस्कार बनाउन सरकारका तर्फबाट पहल गर्न ढिलाइ भइसकेका उदाहरण प्रशस्तै छन् ।

वर्तमानमा राजधानी काठमाडौँले भौग्न परिरहेको फोहोरको समस्या पनि यस्तै प्रवृत्तिका कारण सिर्जित हो । काठमाडौंँको फोहोर लगिने क्षेत्र सिसडोललगायत पासाङ ल्हामु राजमार्गको सडक मर्मत तथा सुधारका लागि स्थानीय जनताले उठाइरहेका जायज माग सम्बन्धमा आठ वर्षअघि नै ठेक्का लागिसके पनि हालसम्म पनि सो कार्य सम्पन्न हुन नसकेकै फलस्वरूप समस्या खडा भएको हो । 

बूढानीलकण्ठको सडकको जस्तो अवस्था राजधानीका धेरै टोल तथा वडामा धेरैतिर देख्न पाइन्छ । केही मिटरका दूरीमा राजधानीका मुख्य सडकमा समेत खाल्डाखुल्डी पाइनु यहाँका सडकका विशेषताका रूपमा औँल्याउनुपर्ने हुन्छ । अझ भन्नुपर्दा धेरै ठाउँमा सग्ला सडक देख्न पाउनु निकै दुर्लभ छ । वर्षा यामअघि नै सडक निर्माण मर्मत सम्पन्न गरिसक्नु पर्छ भन्ने तथ्यमा न सरकारी पक्षले गम्भीरतापूर्वक सोचविचार गरेको पाइन्छ न त ठेकेदारले आफ्नो जिम्मेवारी नै महसुस गर्छन् ।

सर्वसाधारणले भोग्नुपर्ने सास्तीका सम्बन्धमा कोही पनि सचेत नभएको देखिन्छ । देशैभरि नै यस्ता समस्याको निराकरण गर्न सरकारले वर्षा याममा सडक निर्माण तथा मर्मत गर्नुपर्दा पालन गर्नुपर्ने नीति नियमसम्बन्धी निर्देशिका व्यवस्था गर्नुपर्ने आवश्यक देखिइसकेको छ । सर्वसाधारण जनतालाई सधैँ कतिन्जेल यस प्रकारको प्रशासनिक तथा प्राविधिक लापरबाहीका कारण दुःख दिइराख्ने हो ? यस सम्बन्धमा सरोकारवाला सरकारी निकायहरूले गम्भीरता साथ नीति निर्माण अनि त्यसको कडाइका साथ कार्यान्वयन अत्यन्त जरुरी देखिन्छ ।