कमल खत्री
धम्बोझी, कात्तिक १८ गते । बाँकेको कोहलपुर र नेपालगन्जमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी टुर कार्यक्रम गरिएको छ ।
एनपिएलको दोस्रो संस्करण सुरु हुनुपूर्व गरिएको ट्रफी टुर कार्यक्रम बाँके र बर्दियाका विभिन्न स्थानमा गरिएको थियो । ट्रफी टुर कार्यक्रम अन्तर्गत बाँकेका ठूला दुई शहर कोहलपुर र नेपालगञ्ज तथा बर्दियाको बाँसगढीमा लुम्विनी लायन्सको टिम ट्रफीसहित पुगेको थियो ।
एनपीएलप्रति सर्वसाधारणको समर्थन आर्जन गर्ने उद्देश्यले ल्याइएको ट्रफीलाई कोहलपुर चौराह, कोहलपुरको क्रिकेट मैदान, नेपालगञ्जको वागेश्वरी मन्दिर, मङ्गलप्रसाद मावि तथा नेपालगञ्ज रङ्गशालासम्म पुर्याइएको थियो ।
कोहलपुर चौराहामा कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता पौडेल, नेपाल क्रिकेट संघका केन्द्रीय छनोट समितिका सदस्य तथा पूर्व कप्तान लेखबहादुर क्षेत्री तथा नेपाली महिला क्रिकेट टिमका पूर्व उप कप्तान ममता थापाले संयुक्त रुपमा ट्रफीलाई स्वागत गर्नुभएको थियो ।
ट्रफीलाई स्वागत नेपाली महिला क्रिकेट टिमका पूर्व उपकप्तान ममता थापाले ट्रफी टुर नेपाली खेलकुद जगतमा पहिलोपटक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विश्व इतिहासको खेल जगतमा विश्वकप ट्रफीलाई यसरी नै हरेक देशमा ट्रफी टुर गराउने अभ्यास छ । नेपाल प्रिमियर लिगको चर्चालाई अझै जनतासम्म पुर्याउनको लागि यस्तो खालको ट्रफी टुर गर्नु असाध्यै राम्रो हो । नेपाल विश्वकपमा छनौट भइसकेको छ ।’
टिमका मेन्टर शक्ति गौचनले विभिन्न स्थानमा नागरिक, क्रिकेटप्रेमीहरूले भव्य स्वागत गरेको बताउनुभयो । एनपीएलको दोस्रो संस्करण सुरु हुनुपूर्व आयोजना गरिएको ट्रफी टुरले प्रतियोगिताप्रति नागरिकमा झनै चासो र कौतुहलता बढाएको गौचनले बताउनुभयो ।
नेपाली पुरुष राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले पहिलो सिजनमा औसत प्रदर्शन गरेको थियो । यसपटक भने उपाधि जित्ने लक्ष्यसहित लुम्बिनी लायन्स दोस्रो संस्करणमा सहभागिताका लागि आतुर छ । एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि सुरु हुँदैछ ।
एनपीएलको दोस्रो संस्करण सुरु हुनुपूर्व लुम्बिनी प्रदेशका विभिन्न सहरमा ट्रफी टुर कार्यक्रम गरिएको हो । एनपीएल टिम लुम्बिनी लायन्सको सक्रियतामा लुम्बिनीका विभिन्न २८ स्थानमा एनपीएल ट्रफी टुर गरिएको छ ।