• १८ कात्तिक २०८२, मङ्गलबार

ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा

blog

ठुलो आवाज निकाल्ने मोटरसाइकल प्रहरी नियन्त्रणमा ।

इमान सिं राना

रामपुर (पाल्पा), कात्तिक १७ गते । इलाका प्रहरी कार्यालय, रामपुरले ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको छ । स्वरुप परिवर्तन गरी ठुलो आवाज आउने साइलेन्सर राखिएका मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

अस्थाई ट्राफिक प्रहरी पोष्ट रामपुरसँगको समन्वयमा अभियान सञ्चालन गरी पछिल्लो एक हप्ताको अवधिमा सातवटा मोटरसाइकल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । चर्को आवाजले ध्वनि प्रदूषणसँगै बजार क्षेत्रका सर्वसाधारणलाई आतङ्कित बनाएको गुनासो आएपछि स्वरुप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रण लिइएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनुभयो ।

रामपुरको बजार क्षेत्रसहित आसपास स्थानमा स्वरुप परिवर्तन गरी चर्को आवाज आउने धेरै बाइकहरु रहेको गुनासो आएको बताउँदै आवश्यक प्रक्रिया पूरा गरी कानुनी कार्वाही गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयको गुनासो आएसँगै सात वटा मोटरसाइकल नियन्त्रणमा लिएका छौं । ध्वनि प्रदुषण गर्नेगरी अन्य स्थानमा पनि धेरै मोटरसाइकलहरु सञ्चालनमा रहेको जानकारी आएको छ । क्रमशः नियन्त्रणमा लिएर कार्वाही गर्नेछौं ।”

नियन्त्रणमा लिएका मोटरसाइकल पटक पटक सोही कुसुरमा कार्वाही भएको रहेछ भने सिधै यातायात व्यवस्था कार्यालयमा कार्वाहीका लागि पठाइने र पहिलो पटक हो भने मोडिफाई गरिएका सामग्री निकालेर मापदण्डअनुसार पहिलेकै स्वरुपमा बनाएपश्चात सवारीधनीलाई प्रदान गर्ने सुनारले बताउनुभयो । ठुलो आवाज निकालेर सवारीसाधन चलाउँदा ध्वनि प्रदूषण हुनाका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारीसाधन नचलाउन प्रहरीले आग्रह गरेको छ ।

साथै मोडिफाई गरिएका सवारी मापदण्डअनुसारको पुरानै स्वरुपमा बनाएर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । कार्यालयले नियमित सवारी चेकजाँचसँगै  चर्को आवाज आउने सवारीमाथि निगरानी बढाएको छ ।