• १८ कात्तिक २०८२, मङ्गलबार

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

blog

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । फाइल तस्बिर

काठमाडौँ, कात्तिक १८ गते। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ। 

आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उहाँले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिनुभयो।

उहाँले भन्नुभयो, “आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नु पर्छ। प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनु पर्छ।”

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते उहाँको निवासमा आगजनी हुँदा नागरिकतासहितका कागजात जलेपछि पूर्वराष्ट्रपति भण्डारीले नागरिकताको प्रतिलिपि लिनुभएको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उहाँलाई नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रदान गर्नुभएको हो। 

जेन–जी आन्दोलनमा जिल्ला प्रशासन कार्यालयमा पनि क्षति भएको थियो। उक्त कार्यालयले पुनर्निर्माणसँगै नियमित सेवा प्रवाह गरेको छ। रासस