नवीनराज कुइँकेल
लमजुङ, कात्तिक १८ गते । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएकामध्ये परिचयपत्र तथा उपचार खर्चका लागि एक जना मात्र लमजुङ प्रशासनमा सम्पर्कमा आएका छन् । घाइते पहिचान भएका सात जनालाई परिचय पत्र र उपचार खर्चका लागि सम्पर्कमा आउन गत असोज २७ गते जिल्ला प्रशासनबाट सूचना जारी गरिएको थियो ।
गृह मन्त्रालयबाट प्राप्त अभिलेख अनुसार नाम सार्वजनिक भएका सात जना मध्ये बेँसीसहर ठेगाना भएका सुजन परियार मात्रै सम्पर्कमा आएको प्रशासनले जनाएको छ । लमजुङ स्थायी ठेगाना भई काठमाडौँ, पोखरा तनहुँ र चितवनका विभिन्न अस्पतालमा उपचार गराएका जेनजी घाइतेलाई परिचय पत्र र भैपरी खर्च उपलब्ध गराउने भन्दै सात जनाको नाम सार्वजनिक भएको थियो । परिचय पत्र एवं राहत पाउने घाइतेहरूमा लमजुङका सुजन अधिकारी, पर्वत गुरुङ, सुष्मिता गुरुङ, सुजन पौडेल, विनय घले, आरुष गुरुङ र सुजन परियार रहनुभएको थियो ।
सम्पर्कमा आउनुभएका परियारले जिल्ला प्रशासन कार्यालयबाट परिचय पत्र लिनुभएको राहत वितरणको प्रक्रिया बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी थमनसिँह गौतमले बताउनुभयो । सूचना जारी भए लगत्तै तिहार बिदा भएको र त्यसपश्चात कार्यालयका लेखापाल बिदामा रहेकाले राहात वितरण प्रक्रियामा ढिलाई भएको प्रशासनले जनाएको छ । हाल जिल्लामा प्रमुख जिल्ला अधिकारी समेत नहुँदा खाता सञ्चालन गर्न नसकिएको सहायक प्रजिअ गौतमले बताउनुभयो ।
आन्दोलनका घाइतेमध्ये तीन जना काठमाडौँको आन्दोलनमा घाइते भई काठमाडाैँकै विभिन्न अस्पतालमा उपचार गराउनुभएका हुन भने दुईजना चितवनमा भएको आन्दोलनमा घाइते भई चितवनकै अस्पतालमा उपचार गराउनु भएकाहरू हुनुहुन्छ । सो बाहेक एक जना पोखरा र एक जना दमौलीको अस्पतालमा उपचार गराउनुभएको थियो ।
गृह मन्त्रालयको परिपत्र अनुसार घाइतेलाई प्रतिव्यक्ती २० हजार रुपियाँ भैपरी खर्च र परिचयपत्र उपलब्ध गराउने भएको छ । त्यसका लागि सम्बन्धित घाइते स्वयं जिल्ला प्रशासन कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
देशव्यापी जेनजी आन्दोलनका क्रममा लमजुङ शान्तपूर्ण भए पनि लमजुङ स्थायी घर भई देशका विभिन्न स्थानमा बस्दै आएकाहरू आन्दोलनका क्रममा घाइते भएका थिए ।