चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक १८ गते। सशस्त्र प्रहरीले ताप्लेजुङस्थित उत्तरी सीमा क्षेत्रको निरीक्षण गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजङ्घा र ओलाङ्चुङगोला बिओपी (बोर्डर आउट पोस्ट) को टोलीले सीमा क्षेत्रको निरीक्षण गरेको हो।
कञ्चनजङ्घाका गुल्मपति एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकको नेतृत्वमा गएको सशस्त्र प्रहरी टोलीले सीमा क्षेत्रको निरीक्षण गरेको हो। ओलाङ्चुङगोलास्थित चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमा क्षेत्र सशस्त्र प्रहरीले निरीक्षण (गस्ती) गरेको हो।
यही कात्तिक ११ देखि १६ गतेसम्म सीमा क्षेत्रको निरीक्षण गरेर सशस्त्र प्रहरी टोली सदरमुकाम फुङ्लिङ फर्फिएको सप्रनाउ पाठकले जानकारी दिनुभयो। उहाँकाअनुसार कञ्चनजङ्घा गुल्म र बिओपीको संयुक्त टोलीले फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलास्थित मौवाटार र चार हजार ६०० मिटर उचाइ रहेको स्यामचुङ क्षेत्रसम्म निरीक्षण गरेको छ।
पछिल्लो साता भएको वर्षा र हिमपातका कारण स्यामचुङभन्दा माथि जान नसकेको सप्रनाउ पाठकले जानकारी दिनुभयो। मौवाटार र सोभन्दा माथिको क्षेत्रमा बाक्लो हिउँ परेकाले जान नसकिएको उहाँले बताउनुभयो। सीमा क्षेत्रको भ्रमणमा निस्किएकै अघिल्लो दिनदेखि मोन्था चक्रपाथका कारण वर्षा सुरु भएको र सो वर्षासँगै प्रतिकुल बनेको मौसमको प्रवाह नगरी सशस्त्र प्रहरी टोलीले सीमा क्षेत्रको गस्ती अर्थात निरीक्षण गरेको उहाँको भनाइ छ।
गतवर्ष पनि ओलाङ्चुङगोला बिओपीको टोलीले टिपताला क्षेत्रको निरीक्षण गरेको थियो। समुद्री सतहदेखि पाँच हजार १५० मिटर उचाइमा अवस्थित टिपताला नेपाल–तिब्बतको नाका क्षेत्र हो। टिपताला पुग्नलाई ओलाङ्चुङगोलादेखि तीन घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ।