• ३१ वैशाख २०८१, सोमबार

मेरुदण्ड वाथ परीक्षण सेवा विस्तार

blog

रङ्गेली समाचारदाता

विराटनगर, जेठ २३ गते । कोसी अस्पताल विराटनगरमा मेरुदण्डको बाथ ‘स्पोनडाइलो आर्थराइटिस्’ रोगको प्याथोलोजी परीक्षण सेवा विस्तार भएको छ । मेरुदण्डसहित शरीरका जोर्नी र अङ्गमा असर गर्ने दीर्घकालीन रोगको पहिचानका लागि ल्याब सेवा विस्तार गरिएको हो । कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. यज्ञराज खरेलका अनुसार यो सेवा पूर्वमा कोसी अस्पतालले सुरुवात गरेको छ ।

मेरुदण्ड बाथ रोगको आशङ्का लागेमा यस अगाडि बिरामीको नमुना सङ्कलन गरेर भारत वा काठमाडौँमा पठाउनुपर्ने बाध्यता थियो । “एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस, रियाक्टिभ आर्थराइटिस, सोरियाटिक आर्थराइटिस, इन्टेरोपेथिक आर्थराइटिस र जुभेनियल स्पोनडाइलो आर्थराइटिस यो रोगअन्तर्गत पर्दछन्,” मेसु खरेलले भन्नुभयो । यसको प्रमुख समस्या भनेको एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस हुन्छ, जसको ‘एचएलए बी २७’ जीन परीक्षणको सेवा अस्पतालले सुरु गरेको छ ।

मेरुदण्ड बाथ रोग लागेका बिरामीको मेरुदण्ड, कम्मर, मेरुदण्डबीचको हड्डीमा असर गर्दछ । जसको समयमै पहिचान हुन नसक्दा बिरामीको स्वास्थ्यमा गम्भीर असर पुग्ने मेसु खरेलले जानकारी दिनुभयो । कोसी अस्पतालले यो सेवा अहिले तीन हजार पाँच सय रुपियाँ शुल्क लिएर सुरु गरेको हो । यसअघि बिरामीको नमुना सङ्कलन गरेर बाहिर पठाउँदा सात हजार रुपियाँ खर्च हुने गरेको थियो । अस्पतालमा कोभिड–१९ परीक्षणका लागि स्थापना गरिएको पीसीआर ल्याबमा केही आवश्यक उपकरण थपेर सेवा विस्तार गरिएको मेसु खरेलले जानकारी दिनुभयो ।

मानिसमा एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस भए ढाडको तल्लो भाग आराम गरेको समयमा लामो समयसम्म दुख्ने र हिँडडुल गर्दा आराम भएजस्तो हुने लक्षण देखा पर्दछ । दुखाइकै कारण रातमा निद्रा बिग्रने र बिहान हिँडडुल गर्न थालेपछि जाँगर भरिने चिकित्सकहरूको बुझाइ छ । लामो समयसम्म उपचार नभएमा हड्डीमा परेको असरले ढाड कुप्रिने समस्या हुने मेसु खरेलले जानकारी दिनुभयो ।