• १३ असोज २०८२, सोमबार

हराउँदै लिङ्गेपिङ

blog

डाँडागाउँमा लगाइएको लिङ्गेपिङ ।तस्बिर : सन्तोष सुवेदी

पाख्रीबास समाचारदाता

पाख्रीबास (धनकुटा), असोज १३ गते  । दसैँमा मान्यजनबाट टीकाजमरा लगाएर आशीर्वाद लिई, एक पटक धर्ती छाड्नै पर्छ भन्ने मान्यता छ । पछिल्लो समय युवापुस्ताको बेवास्ताका कारण आकर्षण घटेसँगै धनकुटामा लिङ्गेपिङ भने लोप हुँदै गएको हो । 

दसैँ र तिहारलाई लक्षित गरी लगाइने पिङ एक दशकअघिसम्म धनकुटामा जताजतै देख्न पाइन्थ्यो । दसैँ सुरु भएलगत्तै गाउँघरमा साथीभाइ जम्मा भएर लिङ्गे तथा रोटेपिङ लगाउने चलन रहेको थियो । धनकुटाका गाउँ गाउँमा लिङ्गे र रोटे गरी दुईखाले पिङ लगाउने प्रचलन थिए । गाउँभरिका गाउँले भेला भएर स्थानीय बाबियो बाँस आदिवाट लिङ्गेपिङ तयार पारिन्थ्यो । त्यस्तै खयर सल्लोलगायतको काठबाट रोटेपिङ बनाउने गरिन्थ्यो । त्यो बेला दसैँतिहारको मुख्य मनोरञ्जनको साधनका रूपमा पिङलाई लिइने गरिन्थ्यो । अहिले युवापुस्तामा अन्य मनोरञ्जनका साधनमा मोह भएका कारण पिङ लोप भएको धनकुटाका स्थानीय राजु घिमिरेले बताउनुभयो । संरक्षणका लागिपरेको उहाँको भनाइ रहेको छ । 

लिङ्गेपिङ बाँस, बाबियो, जुटलगायतबाट निर्माण गर्ने गरिन्छ । अझ पहाडी क्षेत्रमा गाउँका सबै जना भेला भएर दसैँ आउनुअगावैै बाबियो काट्न जाने गर्दछन् ।  चाडबाड मात्रै नभई मनोरञ्जनका लागि पनि लिङ्गेपिङलाई लिने गरिन्छ । खास गरी दसैँमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिइसकेपछि एक पटक धर्ती छाड्नै पर्छ भन्ने मान्यताका आधारमा खेल्ने गरिन्छ । दसैँमा नौरथा लागेसँगै गाउँघरमा सबै जम्मा भएर लगाइन्थ्यो र तिहारसम्म खेल्ने गरिन्थ्यो । अहिले एउटा पिङ भेट्नका लागि धेरै गाउँ चाहर्दा मात्र बल्ल बल्ल देख्न पाइन्छ । गाउँमा युवापुस्ता नहुँदा र अन्य मनोरञ्जनका साधन भित्रिँदा पिङ लोप हुँदै गएको विश्वनाथ दाहालको विश्लेषण छ । 

पिङ दसँैको संस्कृति र मौलिकतासँग जोडिएको छ । अझ पुरानो पुस्तालाई पिङ नदेखेसम्म दसैँ आएको भन्ने नै हँुदैन । आधुनिकताले ढपक्कै ढाक्न थालेसँगै दसँैमा यस्ता संस्कृति र मौलिकता जोगाइराख्न आवश्यक पनि रहेको छ ।