• १३ असोज २०८२, सोमबार

प्रदेश अस्पताल दमौलीमा बिरामी बढे

blog

प्रदेश अस्पताल दमौलीमा पालो कुर्दै गरेका बिरामी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज १२ गते । चाडपर्व नजिकिँदै गर्दा तनहुँको सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीमा बिरामीको चाप ह्वात्तै बढेको छ ।

मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड र निमोनिया लगायतका सङ्क्रमणजन्य रोगका बिरामीहरू एकाएक बढेपछि अस्पतालमा उपचारका लागि आउनेको सङ्ख्या दैनिक ५०० हाराहारी पुगेको अस्पताल प्रशासनले जनाएको छ । 

मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालका अनुसार हाल उपचारका लागि आउनेमध्ये धेरैजसो बिरामी रुघाखोकी र भाइरल ज्वरोका हुन् । “सङ्क्रमणजन्य रोग भएकाले यसले एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ, त्यसैले सावधानी अपनाउनुपर्छ,’ उहाँले भन्नुभयो । उहाँले घरमै आइसोलेसन बस्न, खानपानमा ध्यान दिन र भीडभाडमा कम जान सुझाव दिनुभयो ।

अस्पतालका चिकित्सकका अनुसार बालबालिकामा निमोनियाको समस्या बढेको छ भने युवा तथा वृद्धहरूमा भाइरल ज्वरोको प्रकोप देखिएको छ। सामान्य रुघाखोकी निको हुन एकदेखि दुई हप्तासम्म लाग्ने भएकाले धैर्य गर्नुपर्ने उनीहरूको भनाइ छ ।

अस्पताल प्रशासन शाखाका प्रमुख दिनेश पण्डितका अनुसार पहिले दैनिक ३५० जना बिरामी आउँथे भने हाल १५० बढी भएर झण्डै ५०० पुगेका छन् ।  “चाडपर्वको मौसमसँगै बिरामीको चाप अस्वाभाविक रूपमा बढेको छ,“ पण्डितले बताउनुभयो ।

दसैं र तिहार जस्तो ठुलो पर्वमा बिरामी भएर अस्पताल धाउनुपर्दा स्थानीयलाई निकै पीडादायी भएको छ। व्यास नगरपालिका–१४, केशवटारकी पार्वती मगरले भन्नुभयो, “छोरो बिरामी भएर अस्पतालमै भर्ना गर्नुपर्दा यसपालि पर्वको मजा नै हराएको छ ।’’ स्वास्थ्यकर्मीहरूले चाडपर्वको भीडभाडका बेला थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।