काठमाडौँ, चैत १९ गते । पछिल्लो समय भरिभराउ हुँदै आएको नेपाली सिनेमा घरमा फेरि दर्शकको चाप ‘न्यून’ देखिन थालेको छ । चलचित्र बजार ओरालो लाग्दा फागुनदेखि प्रदर्शनमा आएका धेरै चलचित्रलाई लगानी उठाउनसमेत हम्मे हम्मे परेको हल सञ्चालक बताउँछन् । ‘पूर्णबहादुरको सारङ्गी’ चलेपछि हलवालामा आशाको सञ्चार उत्पन्न भएको थियो तर त्यसयता प्रदर्शनमा आएका अधिकांश चलचित्रको व्यापारिक स्थिति कमजोर छ । दर्शकको चाप ह्वातै घटेकाले हलमा चलचित्र चलाउन हम्मे हम्मे परिरहेको अवस्था छ ।
रञ्जना सिनेप्लेक्सका प्रबन्धक शशाङ्मान सिंहका अनुसार अहिले नेपाली चलचित्रमा मात्र होइन सलमान खान अभिनीत बलिउड चलचित्र ‘सिकन्दर’ मा समेत दर्शक कम छन् । कुनै समय सलमान भनेपछि हुरुक्कै हुने दर्शक अहिले सलमानको चलचित्र हेर्न खासै रुचाउँदैनन् । दर्शकले अहिले कलाकारलाई भन्दा कथालाई धेरै प्राथमिकता दिन थालेको सिंहको तर्क छ । उहाँले भन्नुहुन्छ, “चलचित्र मनोरञ्जनको माध्यम हो । पैसा तिरेर चलचित्र हेर्न पुग्ने दर्शकले पहिले मनोरञ्जन अनि मात्र चलचित्रमा सन्देश खोज्छन् । त्यसैले पनि दर्शक तान्न राम्रो कथा दिन जरुरी छ ।”
वर्ष दिन लगाएर निर्माताले जति उत्साहका साथ चलचित्र निर्माण गर्छन्, त्यो उत्साह चलचित्र प्रदर्शनको सुरुवाती दिनदेखि नै निराशामा बदलिन्छ । चलचित्र प्रदर्शन हुने दिन शुक्रबार चलचित्र हेर्न कमै मात्र दर्शक हल पुगेका छन् । हातमा गन्न सकिने चलचित्रमा मात्र दर्शकको ध्यान केन्द्रित भए पनि बाँकी चलचित्रमा दर्शक उपस्थिति पातलै हुन्छ ।
अभिनेतृ दीपाश्री निरौला दर्शकलाई चलचित्रमा बाँध्न नसक्नु चलचित्रकर्मीको कमजोरी भएको स्वीकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी बजेट, कलाकार, लोकेसन, प्रविधिमा कहिले सम्झौता गर्दैनौँ तर कथामा कमजोर चुक्छौँ । त्यसैले पनि दर्शकलाई चलचित्र हलमा तान्न सकेका छैनौँ । राम्रो कथा, पटकथा तथा संवाद नभई दर्शकलाई भरपुर मनोरञ्जन दिन सकिँदैन,” उहाँले भन्नुभयो ।
चलचित्रमा दर्शकको कमी हुनुको मुख्य कारण प्रत्येक हप्ता तीनदेखि चार वटा चलचित्र एकै पटक प्रदर्शनमा आउनु रहेको विश्वज्योति सिनेप्लेक्सका निर्देशक रोहन सिंह बताउनुहुन्छ । उहाँका अनुसार अहिले हलमा अन्जिलाबाहेक अन्य चलचित्रमा दर्शकको चाप खासै छैन । कुनै बेला एउटा पनि दर्शक नभएर चलचित्रको सो नै रद्ध गर्नु परेको अवस्था पनि आएको छ । दर्शकको शून्य उपस्थितिमा हल सञ्चालन गर्नु भनेको एउटै पर्दामा दैनिक ५० हजार घाटा बेहोर्नु हो,” सिंहले भन्नुभयो । एसी, बत्ती, पर्दादेखि सुरक्षाकर्मी र सफाइ कर्मचारीमा लाग्ने खर्च हल सञ्चालकले बेहोर्नु परेकाले आफूहरू मारमा पर्ने गरेको उहाँ बताउनुहुन्छ । मनोरञ्जनका साधन धेरै भएका कारण हलमा दर्शकको उपस्थिति कम हुन थालेको धेरैको आकलन छ । युट्युब, नेटफ्लिक्स जस्ता प्लेटफर्म आउँदा दर्शकको सङ्ख्या चलचित्रमा कम भएको हुन सक्ने रञ्जना सिनेप्लेक्सका प्रबन्धक सिंह बताउनुहुन्छ ।
यी त भए केही समयका लागि पन्छिने बाटो तर यहाँ चलचित्रको कथादेखि लिएर त्यसको निर्माणसम्म राम्रो भएको अवस्थामा दर्शकले अवश्य नै चलचित्र हेर्न रुचाउँछन् । नेपाली चलचित्रमा दर्शक छैनन् भनेर रोदन गर्नुभन्दा पनि चलचित्रप्रति दर्शकको आकर्षण बढाउन निर्माता, निर्देशकले विषयप्रधान तथा राम्रा चलचित्र बनाउनेतिर जोड दिँदा दर्शकलाई हलतिर आकर्षित गर्न सकिने कुरामा दुईमत छैन ।