• ३ साउन २०८१, बिहिबार

बुटवलमा खानेपानी सपना

blog

हाम्रा कुनै पनि ठूला आयोजना अनावश्यक रूपमा किन लम्ब्याइन्छ ? यो प्रश्न गम्भीर छ र यसको उत्तरसमेत सजिलो छैन । कुनै पनि ठूला आयोजना कहिल्यै समयमा बन्न सकेका छैनन् । ठूला आयोजना लम्ब्याउन थालिनुमा कतिपय अवस्थामा भ्रष्टाचार र अनियमितताको गन्ध आउन थल्छ । बुटवलको ‘मेलम्ची’ को नामले पुकारिने खानेपानी आयोजना लामो समयदेखि बन्न नसक्दा यस्तै गुनासा आउने गरेका छन् । काठमाडौँमा खानेपानी ल्याउने मेलम्ची खानेपानी लामो समय पर्खेरसमेत तयार भएको सन्दर्भमा बुटवलको मेलम्चीले कहिले बन्ने यकिन छैन ।

तीव्र गतिमा जनसङ्ख्या वृद्धिका अतिरिक्त मुलुककै व्यापारिक केन्द्रका रूपमा उदाउँदै गरेको बुटवलमा विगत लामो समयदेखि खानेपानीको समस्या कुनै नौलो विषय होइन । यो समस्या अझ विशेषतः गर्मी याममा चर्किन्छ । बुटवलमा मुख्य क्षेत्रमा हिजोआज पानीको व्यापक अभाव छ । हाल बुटवलमा दैनिक तीन करोड ३२ लाख लिटर पानीको माग रहेकोमा खानेपानी संस्थानले दुई करोड ४० लाख लिटर मात्र आपूर्ति गर्न सक्षम रहेको छ ।

यस अर्थमा दैनिक ९२ लाख लिटर अर्थात् मागको झन्डै ३० प्रतिशत पानीको अभाव बुटवलवासीले बेहोर्नु परिरहेको छ । वार्षिक थपिने झन्डै एक हजार धाराका कारण पानीको अभाव अझ चर्को रूपमा हुनेमा शङ्का छैन । तसर्थ बुटवलको खानेपानी समस्या समाधानका लागि महत्त्वपूर्ण परियोजनामा इमानदारी साथ काम गर्नु एक मात्र सर्वोत्तम उपाय हुन सक्छ । 

तथ्याङ्कगत दृष्टिबाट झन्डै एकतिहाई बुटवलवासी खानेपानीजस्तो आधारभूत वस्तुबाट वञ्चित हुनु वास्तवमै विडम्बनापूर्ण अवस्था हो । खानेपानी समस्या दीर्घकालीन रूपमा निराकरण गर्न काठमाडौँको झै बुटवलमा २६ वर्षअघि स्थानीय सिस्ने खोलाबाट पानी ल्याउन बनाइएको थियो । सो योजनाले यहाँको माग धान्न नसक्ने भएपछि तिनाउ गाउँपालिकाका वडा नं ३ र ४ मा पर्ने झुम्सा खोलाको फिरफिरे घाटबाट पर्याप्त पानी ल्याउने योजना झन्डै डेढ दशक अघिदेखि सुरु गरिएको थियो तर विडम्बना नै भन्नुपर्छ पानी आएको छैन । काम डेढ दशकका अवधिमा आयोजनाको काम जम्मा ४.१६ प्रतिशत काम मात्र सम्पन्न भएको छ, यो असाध्य विडम्बनापूर्ण छ ।

प्राकृतिक, प्राविधिकलगायत विभिन्न कमजोरीका कारण यो आयोजनामा ढिलाइ भइरहेको बताउने गरिन्छ । यहाँ स्रोत र साधनको दुरुपयोग भइरहेको पनि प्रष्टै देखिन्छ । खानेपानी पाइपलगायतका आवश्यक कच्चा पदार्थ जङ्गलमा यत्रतत्र बेवारिसे रूपमा छरिएका भेटाइनु सामान्य भइसकेको छ । काम मात्र ढिलाइ होइन, यस परियोजनामा निकै ठूलो भ्रष्टाचारको चर्चा परिचर्चासमेत हुने गरेको छ । भ्रष्टाचारको कुरा सुनिने मात्र होइन, उजुरीसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परिसकेको छ । यसरी बुटवलको ‘मेलम्ची’ भनेर चिनिएको आयोजना आकाशको फल आँखा तरी मरको अवस्थामा छ । 

काठमाडौँमा त मेलम्ची एक हदसम्म सफल भएको छ । केही समयका लागि भने पनि पानी आइपुगेको छ । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देख्नुभएको मेलम्चीको सपना काठमाडौँमा पूरा हुन तीन दशकको समय लाग्यो । यो आयोजना अझै पूर्ण भरपर्दो र सफल हुन सकेको छैन । वर्षा याममा बन्द गर्नुपर्ने अवस्था छ ।

पूर्ण रूपमा आश्वस्त हुने तरिकाले सम्पन्न हुन कति समय लाग्ने हो ? अझै पत्तो छैन । बुुटवलवासीको तिर्खा मेटाउने एक प्रमुख भर र आधार हुने थियो त्यहाँको खानेपानी आयोजना तर आयोजनाको सफल कार्यान्वयन नहुँदा बुटवलवासीको सपना पूरा हुन सकेको छैन ।

विगतमा धेरै स्थानीय तथा राष्ट्रिय जनप्रतिनिधिहरू यस क्षेत्रले निर्वाचित गराएर पठाइसकेको छ तर कसैले पनि यो परियोजना सम्पन्न गर्न गम्भीरता साथ तयार भएको नदेखिएको स्थानीयको गुनासो छ । डेढ दशकमा आयोजनाको चार प्रतिशत मात्र कार्य सम्पन्न हुनु यसको ज्वलन्त उदाहरण हो । अहिले पनि स्थानीय जनप्रतिनिधि निर्वाचित भएका छन् ।

यो परियोजनाको सफल कार्यान्वयन अबको मूल कार्यसूची हो । खानेपानीको समस्या यस पटकको स्थानीय निर्वाचनमा पनि निकै प्रखर रूपमा उठेकै थियो । यसका लागि नवनिर्वाचित नेतृत्वले निकै मिहिनेतसाथ लागेर जनअपेक्षा पूरा गर्नेछन् भन्ने स्थानीयको आशा जागेको छ । विवाद र विभेदबाट माथि उठेर यो आयोजना सफल बनाउन सबैको सहयोगसमेत उत्तिकै आवश्यक छ ।