शेरबहादुर सार्की
बाजुरा, कात्तिक २३ गते । समाज रुपान्तरण गर्नका लागि यतिबेला बाजुराका विभिन्न गाउँ बस्तीमा स्थानीयको कचहरी हुने गरेका छन् ।
परम्परादेखि समाजमा कायमै हुँदै आएका जातीय विभेद तथा छुवाछूत छाउप्रथा जस्ता कुसंस्कार रोक्नका लागि पछिल्लो समय यहाँका स्थानीयले गाउँमा कचहरी गर्ने गरेका हुन् । पुराना पुस्ताले यसरी अँगाल्दै आएको जातीय विभेद तथा छुवाछूतका कारण अहिेले यहाँका नयाँ पुस्तालाई असर पार्दै गएकोले गाउँ गाउँमा कचहरी सुरु गर्ने गरेको खप्तड छेडेदह गाउँपालिका –७ की पुष्पा रावतले बताउनुभयो ।
उहाँले भन्नभुयो, “म गैर दलित परिवारमा पर्छु । मेरो घरमा पहिला मेरो बुवा आमा कुनै पनि दलितलाई मेरो घरमा पस्न दिंदैन थिए । मलाई यो कुराले सधैं टाउको दुखाइ हुने गरेको गर्थ्याे । एक मानवले अर्को मानवलाई यसरी विभेद गर्नुपर्छ भन्ने कुरा पनि मैले कुनै किताबमा पनि पढेकी थिइनँ ।”
यसका लागि हामीले यहाँका पुरानो पुस्तालाई राम्रोसँग प्रशिक्षण गर्नुपर्छ त्यसपछि मात्र विभेद अन्त्य हुन्छ । यसका लागि पुरानासँगै अहिलेको नयाँ पुस्ताको समेत कचहरीमा अनिवार्य उपस्थित हुनुपर्ने रावतले बताउनुभयो ।
गाउँघरमा भएको जातीय विभेद छुवाछूत छाउप्रथा रोक्नका लागि महिला विकास मञ्च बाजुराले खप्तड छेडेदह गाउँपालिकाका विभिन्न गाउँ बस्तीमा सामाजिक रुपान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको महिला विकास मञ्च बाजुराका समाजिक परिचालक देबसेरालाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “म पनि एक दलित परिवारको सदस्य हो । मैले संस्थाको कर्मचारी भए पनि यहाँका कतिपय गाउँ बस्तीका गैरदलितहरुको घरभित्र पस्न पाएको थिइनँ ।”
कार्यक्रम सञ्चालन गर्दै आएपछि अहिले यहाँका पुराना पुस्ताले पनि जातीय विभेद गर्न छोडेका छन् । जसका कारण पछिल्लो समय समाजमा हुने गरेको जातीय विभेदमा पनि न्यूनीकरण हुँदै गएको सेरालाले बताउनुभयो ।
बाजुराका अन्य स्थानीय तहमा सबैभन्दा बढी यहाँको जातीय विभेद बुढीगङ्गा नगरपालिकामै बढी हुने गरेको छ । यहाँका विभिन्न गाउँ बस्तीमा छाउप्रथा समेत कायमै छ । खप्तड छेडेदह गाउँपालिकामा पनि जातीय विभेद बढी हुने गर्छ । यसै ठाउँमा ठुला नेता र सामाजिक अभियन्ता पनि छन् । तर ती अभियन्ताको मुखमा एक व्यवहारमा अर्को शब्द आउने गरेकोले उनीहरुको घरमा सबै भन्दाबढी जातीय विभेद बढी हुने गरेको छ ।
उनीहरुले बाहिर रुपमा हामी सामाजिक रुपान्तरणका लागि लडाई गरिरहेको भने पनि उनीहरुको घरमा अहिले पनि विभेद कायमै छ ।
यहाँ गैरदलितले दलितलाई मात्र विभेद गर्दैन । एक दलितले अर्को दलितलाई समेत विभेद गर्ने चलन छ । यता कसैले कुनै व्यक्तिलाई प्रथा, परम्परा, धर्म संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा जातीय तथा छुवाछूत अन्य सामाजमा विभेद गरेको मानिने र यदी यो कुरा कसैले गरेमा तीन महिनादेखि तीन वर्ष कैद र पचास हजारदेखि दुइ लाख रुपियाँ जरिबाना कानुनमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयमा भने यति जनाले जातीय विभेद गरेको भन्ने कुराको यकिन छैन । जातीय विभेदका मुद्दाहरु प्रायः गाउँमै मिलाउने गरेकोले यस्ता घटनाहरु प्रहरी कार्यालयमा नआउने गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।