• १२ असार २०८१, बुधबार

रोप, रोप रोप्नेरी औ ...

blog

डोल्पा, जेठ १४ गते ।

रोप, रोप रोप्नेरी औ असारमा गोडौली,

आरु फुल्यो ड्यौटी दिम्ला, माइत गई ओडौली....

यतिखेर डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा पर्ने कोटज्युलोमा रोपाहारले खेतमा धान रोप्दै सुरिलो भाकामा गाइरहेको देख्न र सुन्न सकिन्छ । हिमाली जिल्ला डोल्पामा जेठ १ देखि धान रोपाइँ सुरु हुन्छ । मानु रोपेर मुरी फलाउने पर्वका रूपमा समेत धान रोपाइँँलाई लिने गरिन्छ । यतिखेर डोल्पाका त्रिपुराकोट, लिकु, खदाङ, मोतीपुर र दुनैलगायतका गाउँमा किसानलाई धान रोपाइँको चटारो छ ।

विगतका वर्षमा डोल्पाकै शक्तिपीठ श्रीवालात्रिपुरा सुन्दरी भगवतीको कोटखौलास्थित गुठी जग्गा सेराज्युलामा जेठ १९ मा धान रोपाइँ भएपछि मात्र सर्वसाधारणले आफ्नो खेत गरामा धान रोपाइँ गर्ने प्रचलन थियो । यसो गरेमा गाउँमा सिद्धि हुने, बालीनाली सप्रने र समयमा वर्षात् भई उब्जनी राम्रो हुने जनविश्वास रहेको छ ।तर यो वर्ष स्थानीय तह निर्वाचनमा व्यस्त हुनुपरेकाले गहुँ, जौ टिप्न अलि ढिला भएपछि यतिखेर कृषकलाई गहुँ, जौलगायतको बाली भिœयाउन भ्याइनभ्याइ छ भने अर्कोतिर बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्ने समय पनि 

यही महिना परेकाले मानिस पाटनतिर लागेकाले पनि डोल्पालीले यो वर्ष धान रोपाइँ छिटो गरेका छन् । पछिल्लो समय जेठको पहिलो हप्ताबाटै धान रोपाइँ भ्याएर सर्वसाधारण यार्सागुम्बा टिप्न तथा सङ्कलन गर्न हिमपाटनमा जाने गर्छन् ।

हिमाली सुन भनेर चिनिने यार्सागुम्बा टिप्ने दिन नजिकिँदै गर्दा किसानलाई जौ, उवा र गहुँ टिपेर धान रोपाइँ गर्ने कामको चटारोले भ्याइनभ्याइ भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का कमलप्रसाद हमालले बताउनुभयो । जेठको पहिलो हप्ताभित्र धान रोपाइँ नगरे गाउँका सबै जना पाटनतिर गइसक्ने र कामदार नपाउने भएबाट धान रोपाइँ छिटो गर्नुपरेको त्रिपुरासुन्दरी नगरपालिका–१ का जुद्ध सार्कीले बताउनुभयो । 

आफ्नो उत्पादनले वर्षमा तीन महिना पनि भरपूर खान नपुग्ने डोल्पामा पाहुनालाई सत्कार गर्न, गाउँको परिचय दिन, कुलदेवतालाई अक्षताका रूपमा चढाउन र इष्टमित्रलाई कोसेली दिनका लागि भए पनि धान रोपाइँ नगरी नहुने त्रिपुरासुन्दरी नगरपालिका–१ का कालीप्रसाद खत्रीले बताउनुभयो । डोल्पाको सबैभन्दा बढी धान रोपाइँ त्रिपुरासुन्दरी नगरपालिका–१, कोट गाउँमा गरिन्छ । धान रोपाइँ खर्च धेरै उब्जनी कम भए पनि परम्परा धान्न र पहिचान दिनका लागि कालीकोटे कालो, रातो र मार्सी धानको रोपाइँ गर्ने प्रचलन छ । 

Author

विष्णुप्रसाद देवकोटा