काठमाडौँ, भदौ १२ गते । भक्त राना स्मृति चेस प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जित्नुभएको छ ।
स्विस लिग प्रणालीमा नौ चरणको प्रतियोगितामा लामाले आठ अङ्क पाउनुभयो । यसैगरी आठ अङ्क जोड्नु भएकाका रुकुमका मिलन रोक्का दोस्रो हुनुभयो ।
यस्तै ७.५ अङ्क बटुल्न सफल सप्तरीका निखिल चौधरी तेस्रो, काठमाडौँका मणिराज डाँगी चौथो तथा ललितपुरका सानु भाइ महर्जन पाँचौँ हुनुभयो ।
उपाधि विजेताले ३० हजार, उपविजेताले २० हजार तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौँ हुनेले आठ हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगिातमा शीर्ष १० मा अटाउनेलाई नगद पुरस्कार प्रदान गरियो ।
महिलातर्फ मोरङकी शान्ति धिमाल च्याम्पियन बन्नुभयो । नवलपुरकी उज्भानी कँडेल दोस्रो र दनिसा पुरी तेस्रो हुनुभयो । चितवनका सन्तोष गौतम बागमती प्रदेशको च्याम्पियन बन्नुभयो ।
लुम्बिनीतर्फ कुशल बेलबासे, कोसीबाट प्रेम खड्का, गण्डकीबाट सुशील सुबेदी, मधेसबाट सचिन कुमार चौधरी, कर्णालीबाट मुस्कान कार्की र सुदूरपश्चिमबाट लेखराज भट्टराई पहिलो हुनुभयो ।
यस्तै भेट्रान ६० वर्ष माथिमा जर्नादन श्रेष्ठ र ५५ वर्ष माथि भुवनेश्वर चौधरी पहिलो हुनुभयो । यस्तै यु–१८मा विपिन घिमिरे, यु–१६ मा सुभन्दिप थापा, यु–१४ मा विभव जोशी, यु–१२ मा आयान जोशी, यु–१० मा आयम सुबेदी र यु–८ मा अङ्कुर पोखरेलले बाजी मार्नुभयो ।
१८०० रेटिङ मुनी राम कार्की, १७०० मुनी कृश अधिकारी र अनरेटेडमा भारतीय खेलाडी आदर्श राज पहिलोहुनुभयो । अखिल नेपाल बुद्धिचाल सङ्घको आयोजनामा सञ्चालित दुई दिने प्रतियोगितामा दुई सय २१ जना खेलाडीको सहभागिता रहेको थियो ।