गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने र स्वीस राजदूतावासका विकास सहायतातर्फका प्रमुख तथा नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत मथियास माइयरबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।
उक्त भेटमा मन्त्री न्यौपानेले सन् १९५६ देखि नेपाल–स्वीट्जरल्यान्डबिच कायम रहँदैआएको सौहार्दपूर्ण सम्बन्धप्रति खुसी व्यक्त गर्दै नेपालको आर्थिक–सामाजिक विकासमा स्वीस विकास सहायताले गरेको योगदानको उच्च प्रशंसा गर्नुभयो । मन्त्री न्यौपानेले कोशी र बागमती प्रदेशका नगरपालिकाहरूको आन्तरिक राजस्व अभिवृद्धि गर्न स्विस सरकार र अर्थ मन्त्रालयको सहकार्यमा परियोजना दस्तावेज तयार भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै, यस कार्यक्रम नेपालका स्थानीय तहलाई सबल बनाउन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम दोस्रो चरणमा प्रविष्ट भएको सन्दर्भमा मन्त्री न्यौपानेले यसलाई खुसीको विषयका रूपमा व्याख्या गर्दै पहिलो चरणको अनुभव र सिकाइका आधारमा दोस्रो चरण अझ प्रभावकारी हुने बताउनुभयो । सो अवसरमा मन्त्री न्यौपानेले स्वीस सरकार, युरोपेली सङ्घलगायतका विकास साझेदारहरूको निरन्तर सहयोग र प्रतिबद्धताप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
मन्त्री न्यौपानेले नेपाल–स्वीट्जरल्यान्ड सम्बन्धलाई थप प्रगाढ बनाउन आफू सधैं तत्पर रहने उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित कुनै पनि विषयमा भेटघाट, सहजीकरण र समन्वयका लागि खुला रहने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा कार्यवाहक राजदूत माइयरले मन्त्री न्यौपानेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मन्त्रालयसँग भएको निरन्तर सहकार्यप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले दोस्रो चरण संशोधनसहित कार्यान्वयनमा ल्याउन गत एक वर्षदेखि गरिएको अथक प्रयासको स्मरण गर्दै, स्थानीय शासन सबलीकरण तथा सङ्घीयता सुदृढीकरणका लागि यो कार्यक्रम मुख्य आधार भएको बताउनुभयो । कार्यक्रममा हुने अनुगमन गतिविधिमा मन्त्री न्यौपानेलाई सहभागी हुन अनुरोध गर्नुभयो ।