• १२ भदौ २०८२, बिहिबार

सुडानको एल फासरमा मानवीय सङ्कट, संयुक्त राष्ट्रको चिन्ता

blog

न्यूयोर्क, भदौ १२ गते । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता सम्बन्धी निकायले जानकारी गराए अनुसार, सुडानको उत्तर दारफुर राज्यस्थित एल फासर सहरमा बालबालिका अत्यन्त कठिन र पीडादायक अवस्थाबाट गुज्रिरहेका छन् ।

उक्त सहर ५०० दिनभन्दा बढी समयदेखि घेराबन्दीमा परिरहेको छ, जसका कारण त्यहाँको अवस्था दिन प्रतिदिन चिन्ताजनक रूपमा बिग्रँदै गएको छ । संयुक्त राष्ट्रसंघ बालबालिका कोष (युनिसेफ) ले जनाएको अनुसार, एल फासरमा कुपोषण, रोग र हिंसाका कारण दैनिकरूपमा बालबालिकाले ज्यान गुमाइरहेका छन् । अनुमानित दुई लाख ६० हजार मानिस सहरभित्र अलपत्र छन्, जसमा करिब आधा बालबालिका छन् । ती सबै १६ महिनाभन्दा लामो समयदेखि मानवीय सहायताबाट बञ्चित छन् ।

सन् २०२५ को सुरुदेखि हालसम्म मात्रै १० हजारभन्दा बढी बालबालिकाको गम्भीर कुपोषणको उपचार गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा लगभग दोब्बर हो । दुःखदरूपमा, एक साताको अवधिमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ, जसमा धेरैजसो महिला र बालबालिका रहेका छन् ।

घेराबन्दीका कारण खाद्य सामग्री र स्वास्थ्य सामग्री पुर्याउने बाटो पूर्णरूपमा बन्द भएको युनिसेफले जनाएको छ । औषधिको अभावका कारण अस्पताल तथा घुम्ती पोषण सेवा बन्द गर्नु परेको छ, जसले गर्दा करिब ६ हजार गम्भीर कुपोषित बालबालिकाले आवश्यक उपचार पाउन सकेका छैनन् ।

त्यसका साथै, हैजाको सङ्क्रमण पनि तीव्ररूपमा फैलिरहेको छ । यसलाई रोकथाम गर्नका लागि खानेपानी, सरसफाइ, औषधि लगायतका सहायता सामग्री प्रदान गरिएको भए पनि केही दुर्गम क्षेत्रमा अझै नयाँ सङ्क्रमण देखापरिरहेको मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ । एल फासरमा गएको चैतदेखि जारी द्वन्द्वका क्रममा एक हजार एक सयभन्दा बढी गम्भीर घटना पुष्टि भइसकेका छन्, जसमा एक हजारभन्दा बढी बालबालिका मारिएका वा घाइते भएको युनिसेफले जनाएको छ । पुष्टि गर्न कठिन भएकाले वास्तविक सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । रासस/सिन्ह्वा