• १२ भदौ २०८२, बिहिबार

तस्करीको सामान प्रकरण : सशस्त्र प्रहरी उपरीक्षक बस्नेत हेडक्वाटर झिकाइए

blog

प्रवीणकुमार शर्मा 
चन्द्रपुर (रौतहट), भदौ १२ गते ।
सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहटका गणपति  सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतलाई बुधबार सशस्त्र प्रहरी हेडक्वाटर झिकाइएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक बस्नेतलाई सोधपुछका लागि हेडक्वाटर झिकाइएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहायक प्रवक्ता शैलेन्द्र थापाले पुष्टि गर्नुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक बस्नेतसँगै बेस क्याम्प सन्तपुर, रौतहटका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र बस्नेतलाई पनि हेडक्वाटर झिकाइएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतलाई यस अघि नै सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीबाट सचेत गराई पठाइएको थियो ।   

सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहटका सशस्त्र प्रहरी नायब उपरीक्षक अमर लामालाई समेत केही दिनदेखि हेडक्वाटमा राखेर अनुसन्धान भइरहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहट तथा रौतहटका विभिन्न बिओपी एवम् बेस क्याम्पमा कार्यरत अन्य १६ जना विभिन्न दर्जाका सशस्त्र प्रहरीलाइ सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीबाट आवश्यक कारबाही गरी फिर्ता पठाइसकिएको छ ।

रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको शिवनगरस्थित एक गोदाम घरमा ठुलो मात्रामा तस्करी गरी भित्र्याइएको चिनी, मल, सिमेन्ट, सर्फलगायतका सामान रहेको भिडियोको आधारमा छापा मारेर नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल हेड क्वाटरले आदेश दिँदासमेत सशस्त्र प्रहरी बल नेपाल ११ नं. गणका सशस्त्र प्रहरी नायब उपरीक्षक लामाले तस्करसँग मिलेमतो गरेर अधिकांश सामान अन्य सुरक्षित स्थानमा पठाउन लगाएको र थोरै परिमाणमा समातेर भन्सार बुझाएको घटनालाई हेडक्वाटरले विस्तृत रुपमा अनुसन्धान जारी राखेको छ ।

छापा मारेको दिन सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक बस्नेत तालिममा भए पनि रौतहटको मध्यभागमा भन्सार छलेर सामान पुग्नु सशस्त्र प्रहरीको मिलोमतो रहेका कारण उहाँमाथि पनि अनुसन्धान सुरु भएको हो ।

तस्करी गरी भित्र्याइएको सामान राखिएको गोदाम नजिक नेपाल प्रहरीको युनिट रहे पनि सशस्त्र प्रहरीले छापा मारेपछि मात्र थाहा पाएको इलाका प्रहरी कार्यालय गरुडा, रौतहटका प्रहरी नायब उपरीक्षक राजन कार्कीले प्रतिक्रिया दिनुभयो ।
नेपाल प्रहरीले यस घटना सम्बन्धमा आफ्ना युनिटसँग सोधपुछ समेत गरेको छैन ।

यसैबिच गौर भन्सार बिओपीका सशस्त्र प्रहरी नायब उपरीक्षक गाण्डिव राज स्याङ्ग्तानले गौर–१ स्थित राधेश्याम साहको दिपेश किराना पसल र गोदाममा बुधबार साँझ छापा मारेर तस्करी गरी भित्र्याइएका खाद्यान्न सामग्री ठुलो परिमाणमा बरामद गरेको छ । किराना पसल खुलेका कारण उपलब्ध सामग्री बरामद गरिएको र गोदाममा ताल्चा लागेको र व्यापारी साह आफैँ उपलब्ध नरहेकोले सिल गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक  स्याङ्ग्तानले  जानकारी दिनुभयो ।

तस्करी गरी भित्र्याइएका समान बरामद गर्न स्थानीय सरकार, उद्योग वाणिज्य सङ्घले सक्रियता नदेखाएको उहाँले गुनासो पोख्नुभयो । रौतहटमा सुरक्षा निकाय र तस्करसँगको मिलोमतोमा सङ्गठित तस्करी हुने गरेका कारण सरकारको करोडौं राजस्व चुहाबट हुँदै आएको छ ।