• १२ भदौ २०८२, बिहिबार

रुसी आक्रमणबाट किएभस्थित इयू नियोगको कार्यालयमा क्षति

blog

ब्रसेल्स, भदौ १२ गते । युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले किएभमा रुसले गरेको घातक आक्रमणबाट आफू ‘भयभीत’ भएको बताउनु भएको छ । युरोपेली परिषद्का अध्यक्ष कोस्टाले एक्समा लेख्नु भएको छ, “यो समय हामी युक्रेनी पीडित र इयू प्रतिनिधिमण्डलका कर्मचारीको सहयोगका लागि तयार छौँ ।” 

उहाँले भन्नुभयो, “इयू डराउने छैन । रुसको आक्रामकताले युक्रेन र त्यहाँका जनताको पक्षमा उभिने हाम्रो सङ्कल्पलाई बलियो बनाएको छ ।” कोस्टाले एउटा कार्यालयको भित्री भागको तस्बिर पोस्ट गर्नु भएको छ यसमा झ्याल फुटेका छन्, छत आंशिकरूपमा तल झुन्डिएको छ र आक्रमणका कारण खसेका भवन र झ्यालका भाग भुइँमा छरिएका छन् ।”

युक्रेनका लागि इयूका राजदूत क्याटरिना माथेरनोभाले विस्फोटको झट्काले नियोगको भवनमा गम्भीर क्षति पुगेको बताउनुभएको छ । इयूका एक अधिकारीले एएफपीसँग कुरा गर्दै इयूका कुनै पनि कर्मचारीलाई चोट पटक नलागेको बताएका छन् । युक्रेनी अधिकारीले रातभर भएको बमबारीमा एक बालकसहित १० जनाको मृत्यु भएको बताएका छन् ।

इयूका उच्च कूटनीतिज्ञ काजा कल्लासले सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ, “विश्वले शान्तिको बाटो खोजिरहेको बेला रुसले क्षेप्यास्त्र प्रहार गरेको छ ।” “किएभमा रातिको समयमा भएको आक्रमणले रूसले शान्ति प्रयासलाई नबढाउने र खिल्ली उडाउने सुनियोजित निर्णय गरेको देखाउँछ,” उहाँले भन्नुभयो । रासस/एएफपी