गजेन्द्र गुरुङ
खजुरा, भदौ ११ गते । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुखसहित चार जना क्याम्पस प्रमुखकै कार्यकक्षमा थुनिनु भएको छ । महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले उहाँहरुलाई कार्यकक्षमा थुेनेको हो ।
आफ्ना मागहरु सम्बोधन नभएको भन्दै क्याम्पस प्रमुखसहितलाई कार्यकक्षमै थुन्नुपरेको महेन्द्र बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष केशरजङ्ग शाहीले बताउनुभयो । उहाँका अनुसार क्याम्पस प्रमुख लालमणि आचार्य, सहायक क्याम्पस प्रमुखद्वय सुवास गौतम र भुवनेश्वर लामिछाने र कार्यक्रम निर्देशक (बिसिए) कोषराज रेग्मीलाई थुनिएको हो ।
स्ववियुले बुझाएका ५१ बुँदे मागहरु कार्यान्वयन नभएका कारण स्ववियुले उहाँहरुलाई क्याम्प प्रमुखको कार्यकक्षमा थुनेर तालाबान्दी गर्नुपरेको स्ववियु अध्यक्ष शाहीले बताउनुभयो । उहाँका अनुसार बुुधबार दिउँसो करिब साढे ३ बजेतिर उहाँहरुलाई ढोका बाहिरबाट ताला लगाएर थुनिएको हो ।
“स्ववियुले ५१ बुँदे मागसहित करिब एक महिना अगाडि क्याम्पस प्रशासनलाई बुझाएका थियौँ, तर क्याम्पस प्रशासनको लाचारीका कारण मागपत्रमा उल्लेख गरिएका माग सम्बोधन नभएका कारणले गर्दा हामी स्ववियु कार्यसमितिद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छौँ” अध्यक्ष शाहीले भन्नुभयो ।