नागेन्द्रकुमार कर्ण
महोत्तरी, भदौ १२ गते । छात्राहरुलाई उच्च शिक्षामा पहुँच बढाउन तथा नियमित पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाको मटिहानी नगरपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ।
मटिहानी नगरपालिकाले आफु अधिनस्त श्रीराम माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत ५८ जना छात्राहरुलाई विद्यालयमा नियमित उपस्थितीको लागि साइकल वितरण गरेको हो । नगरपालिकाको नीति कार्यक्रममा नै छात्राहरुलाई शिक्षामा आकर्षित गर्न उद्देश्यले यस्तो कार्यक्रम राखिएको छ ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले संयुक्त रुपमा छात्राहरुलाई साइकल वितरण गर्नुभएको हो ।
नगरप्रमुख हरिप्रसाद मण्डलले यस विद्यालयमा मटिहानी नगरपालिकाको विभिन्न गाउँ तथा छिमेकी नगरपालिकाहरुबाट समेत छात्राहरु अध्ययनको लागि आउने गरेको बताउनुहुँदै शिक्षामा नियमित उपस्थिती तथा शिक्षा तर्फ आकर्षित गर्न यो कार्यक्रम नगरपालिकाले लागु गरेको बताउनुभयो । उहाँले विगत सात वर्षदेखि नगरपालिकाले कक्षा ११ का छात्राहरुलाई साइकल वितरण गरिरहेको बताउनुहुँदै यसले छात्राहरुको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।
अहिले सो विद्यालयमा मटिहानीसहित सिमरदही, बहुअर्वा, सुगा, पर्सापतैली, सिरसिया, धिरापुर र धनुषा जिल्लाको तुल्सियाही, मुखियापट्टी मुसरनिया लगायतका क्षेत्रका छात्र–छात्राहरु अध्ययनरत छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मटिहानी नगरपालिकाले शिक्षा प्रति गरिरहेको लगानीको प्रशंसा गर्नुहुँदै विद्यार्थीको विद्यालय नियमिततामा साइकल वितरणले सहयोग पुर्याउने बताउनुभयो । केही दिन अगाडि मात्रै नगरपालिकाले प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका सम्पूर्ण विद्यार्थीलाई ल्यापटप वितरण गरेको सम्झिनुहुँदै प्रजिअ रिसालले शिक्षक र विद्यार्थीहरुले पठनपाठनमा ध्यान दिन आग्रह गर्नुभयो ।
उक्त विद्यालयको कक्षा ११ मा अध्ययनरत ५८ जना छात्रालाई सो साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक श्रीशकुमार मिश्राले जानकारी दिनुभयो ।
साइकल वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा, मटिहानी नगरपालिकाको विभिन्न वडाका वडाध्यक्षहरु, महोत्तरी उद्योग वाणिज्य सङ्घका उपाध्यक्षद्वय पवन साह र अजयकुमार साह, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका प्राचार्य हेमनारायण लाल कर्ण, राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलसहित विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधिहरु, शिक्षक, शिक्षिका तथा अभिभावकको उपस्थिति थियो ।