• १२ भदौ २०८२, बिहिबार

कोरियन कम्पनीसँग ग्रिन हाइड्रोजन प्लान्ट स्थापनाका लागि सम्झौता

blog

सम्झौतापत्रमा हस्ताक्षर समारोहमा उपस्थित प्रतिनिधि ।

काठमाडौँ, भदौ १२ गते । नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जिफिलोस कम्पनी लिमिटेडबिच नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जिफिलोस कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गा वु पार्कले हस्ताक्षर गर्नुभयो।

समझदारी अनुसार प्रस्तावक कम्पनी जिफिलोस कम्पनी लिमिटेडले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपश्चात विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिना भित्रमा लगानी बोर्डको कार्यालयमा पेस गर्ने छ।

हस्ताक्षर कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क ताए योङले विशेष मन्तव्य राख्दै नेपालमा यस प्रकारका नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको औंल्याउँदै यस्ता परियोजनाले नेपालले परिलक्षित गरेका दिगो विकास लक्ष्यको प्राप्तिमा कोशेढुङ्गा साबित हुने तथा नेपाल र दक्षिण कोरिया बिचको द्विपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, विद्युत् विकास विभागका महानिर्देशक जिवछ मण्डल, ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य एवम् ग्रिन हाइड्रोजनको अध्ययन तथा अनुसन्धानमा क्रियाशील काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता डा. विराज सिंह थापाले नेपालमा ग्रिन हाइड्रोजनको सम्बन्धमा मौजूदा नीतिगत तथा कानुनी व्यवस्था, यसका बहुआयामिक लाभका विषय तथा आगामी दिनमा यस प्रकारका ऊर्जाको उपयोगका सम्बन्धमा मन्तव्य राख्नु भएको थियो।

लगानी बोर्डको कार्यालयका सहसचिव बाबुराज अधिकारीले विशेष स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले समापन मन्तव्य प्रस्तुत गर्दै यस प्रकारको परियोजनामा प्राज्ञिक क्षेत्रको समेत महत्त्वपूर्ण भूमिका रहने तथा यस्ता परियोजनाहरूले नेपाल जस्तो राष्ट्रमा पूँजी तथा प्रविधीको विनिमयमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो।

प्रस्तावक कम्पनीले निर्दिष्ट समयमै गुणस्तरीय प्रतिवेदन पेस गर्ने विश्वास राख्दै ज्ञवालीले अध्ययन पश्चात यथासक्य छिटो नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट स्थापना हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

प्रस्तावक कम्पनी जिफिलोस कम्पनी लिमिटेडले नेपालमा सार्वजनिकनिजी साझेदारी ढाँचामा ग्रिन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि मिति २०८२ वैशाख १५ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेस गरेकोमा लगानी बोर्डको ६३औं बोर्ड बैठकले उल्लिखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो।