दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ १२ गते। वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण नियन्त्रणमा आउनेक्रममा रहेको छ। वीरगञ्जमा गएको शुक्रबार साँझ तीन जनामा फेला परेको हैजाको सङ्क्रमण बिहीबार साँझसाढे पाँच बजेसम्मको परीक्षण रिपोर्ट अनुसार फैलिएर एक सय ४३ जनामा पुगेको छ। तर उपचाररत बिरामीको संख्या पनि घट्दोक्रममा रहेको छ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार बिहीबार नयाँ ८४ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएकामा ११ जनामा हैजा सङ्क्रमण पुष्टि भएको थियो। यता बिहीबार नै १८ जना हैजा सङ्क्रमितसहित एक सय ७७ जना उपचारपछि निको भएर घर फर्किएका छन्। हालसम्म झाडा पखाला तथा हैजाका ६ सय १२ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएकोमा चार सय ३४ जना उपचारपछि निको भएर घर फर्किएपछि एक सय ७८ जना मात्र विभिन्न अस्पतालमा उपचाररत छन्। जसमध्ये ६९ जना हैजाका बिरामी रहेका छन्।
महानगरको वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले शंकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गर्दै नियमित परीक्षण गर्ने कामलाई तीव्रता दिएको छ।