• १२ भदौ २०८२, बिहिबार

पिँडौलामा मुटुको साथी

blog

मुटुबिनाको शरीर कल्पना पनि गर्न सकिँदैन । सबै मानिसले सोच्छन् शरीरमा एउटा मुटु छ र त्यसमा नै सम्पूर्ण रक्तसञ्चार प्रणाली निर्भर रहेको छ । मुटु मुट्ठी आकारको हुन्छ । 

शरीरमा एउटा मात्र मुटु रहेको हाम्रो बुझाइ गलत छ । सिङ्गो शरीरको रक्तसञ्चार प्रणालीलाई चलायमान राख्न हामीलाई जानकारी भएको छातीभित्रको मुटुले मात्र काम गर्र्दैन । त्यस मुटुलाई सहयोग गर्न मानिसको खुट्टामा पनि अर्को एउटा मुटु रहेको हुन्छ । हामी छातीको मुटुलाई प्राथमिक र खुट्टाको मुटुलाई द्वितीय भन्न सक्छौँ ।   

खुट्टाको पिडौँलाभित्र  रहने यस मुटुलाई चिकित्सा विज्ञानले ‘सोलियस’ भन्छ । यो छातीमा ढल्किएर बसेको मुटुभन्दा सानो, र मौन हुन्छ । यसले शरीरको तल्लो भागबाट रगत पम्प गरेर मुख्य मुटुमा पठाउँछ । मुटु जस्तै धड्किन्छ पनि तर धेरै सुस्त गतिमा धड्कने भएकाले हामी त्यसको चाल थाहा पाउँदैनौँ । यो कुनै विद्युतीय करेन्टले होइन स्वस्फूर्त रूपमा चल्दछ । 

एक मांसपेशीका रूपमा रहने यसले खुट्टाबाट रगत मुटुतिर पठाउँछ । जसले गर्दा खुट्टा सुन्निने, रक्तथेक्ला बन्ने समस्या आउँदैन र रक्तसञ्चार प्रणाली सुचारु रहन्छ । मुटुलाई चल्न विद्युतीय करेन्ट चाहिन्छ तर यसलाई मात्र हाम्रो गतिशीलता आवश्यक पर्छ  । अर्थात् हामीले खुट्टा चलाउँदा, हिँड्दा, खुट्टामा मालिस गर्दा यसले गति प्राप्त गर्दछ । 

जब हामी हिँड्छौँ वा सिँढी चढ्छौँ वा खुट्टाका औँलाको बलमा उभिने प्रयास गछौँ ‘सोलियस’ (पिँडौला रहेको मुटु) सक्रिय हुन्छ । त्यसले गुरुत्वाकर्षणका कारण खुट्टामा पुगेको रगतलाई पुनः अक्सिजनयुक्त बनाउन मुटुतिर पठाउँछ । त्यसैले यसलाई दोस्रो मुटु भनिएको विज्ञ बताउँछन् ।

खुट्टाको ग्यास्ट्रोक्नेमियस मांसपेशी गहिराइमा लुकेको अवस्थामा दोस्रो मुटु रहेको हुन्छ । यसले छातीमुनिको मुटुमा समस्या आउँदा  शरीर नै जोखिममा पर्ने खालको कुनै प्रभाव देखाउँदैन । यो प्रतिरोधी, दृढ, वफादार र शरीरलाई चलायमान बनाई राख्न सक्षम हुन्छ । मानिस उभिएको अवस्थामा समेत यसले राम्रोसँग नियमित काम गर्छ ।

यसर्थ मानव शरीरको दोस्रो मुटुलाई सक्रिय राख्न कुर्कुच्चा बारम्बार उठाउने, गोलीगाँठो घुमाउने र खुट्टाले घेरा बनाउने, हिँडडुल गरिरहनु पर्छ । धेरै बस्ने मानिसमा यो मुटुले राम्रोसँग काम गर्दैन । 

–युवामञ्च