• १२ भदौ २०८२, बिहिबार

घरबासमा दिइने अनुदान रोकेर स्तरीकरण

blog

धेरै बन्द हुँदा अहिले पनि चर्चामा रहेको पहिलो होमस्टे सिरुबारी । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, भदौ १२ गते । उद्देश्य अनुसार स्याङ्जाका घरबास (होमस्टे) को प्रतिफल नआएपछि गण्डकी प्रदेश सरकार अनुदान रोकेर स्तरीकरणको गृहकार्यमा लागेको छ । स्थानीयलाई स्वरोजगार, आयआर्जनमा जोड्ने लक्ष्यसहित स्थापना भएका यहाँका घरबास (होमस्टे) धमाधम बन्द हुँदै जाँदा गण्डकी प्रदेश सरकार यो निर्णयमा पुगेको हो । 

स्याङ्जाको सिरुबारीमा २०५४ सालमा सञ्चालन भएको पहिलो घरबास त्यसयताका २८ वर्षमा ५० वटा पुगेका थिए । तथापि अहिले आधा दर्जनले मात्र पाहुनालाई सेवा दिने गरेका छन् । यहाँ पुराना सिरुबारी, हुनीकोट चर्चामा रहँदा २०७५ पछि दर्ता भएका कोल्मा, खर्सु, रामकोट, अयरपानी, सुन्तला बारी, लालीगुराँस र लामडाँडा प्रचारप्रसारमा रहेका छन् । अन्य गुमनाम र बन्द छन् । 

ग्रामीण पर्यटनका नायक क्याप्टेन रुद्रमान गुरुङको परिकल्पनामा आँधीखोला गाउँपालिका–१, सिरुबारीमा २०५४ सालमा होमस्टे सुरुवात भएको थियो । २०७२ सालमा फेदीखोला–५ मा र २०७३ मा हुनीकोटमा होमस्टे थालनी भएका थिए । गण्डकी प्रदेश पर्यटन मन्त्रालयका अनुसार स्याङ्जाका गल्याङ नगरपालिकामा १७, पुतलीबजार नगरपालिका आठ, वालिङ नगरपालिकामा सात, फेदीखोला गाउँपालिकामा पाँच, आँधीखोला गाउँपालिकामा चार, कालीगण्डकी गाउँपालिकामा तीन, भिरकोट नगरपालिकामा दुई र अर्जुन चौपारी, बिरुवा, चापाकोट र हरिनास गाउँपालिकामा एक/एक वटा होमस्टे दर्ता भएका छन् ।

ग्रामीण क्षेत्रका सम्भावनालाई उजागर गरी पर्यटनको विकास होमस्टेको प्रवर्धनमार्फत स्वरोजगार, आयआर्जन र समृद्धिमा योगदान पु¥याउने उद्देश्यले पर्यटन मन्त्रालय गण्डकीमा ५१ वटा होमस्टे पुगेका थिए । पर्यटन मन्त्रालयका प्रवक्ता हिमा पोखरेलले २०७५/७६ मा होमस्टे सञ्चालन कार्यविधि २०७५ बनएर स्थानीय तहसँग सहकार्य गरेर यहाँ लगानी गरिए पनि उद्देश्य अनुसारको उपलब्धि नभएको बताउनुभयो ।  यहाँका होमस्टेलाई प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि २०७५/७६ मा चार करोड ८९ लाख ६२ हजार पाँच सय, आव २०७७/७८ मा १७ लाख ७६ हजार ५५०, आव २०७८/७९ मा ३१ लाख ५८ हजार ७५३, आव २०७९/८० मा चार लाख २५ हजार २२६, आव २०८०/८१ मा ४१ लाख ५३ हजार २५९, आव २०८०/८१ मा १९ लाख ९७ हजार ५४७ रुपियाँ गरेर छ करोड चार लाख ७३ हजार ८३५ रुपियाँ अनुदान दिएको थियो । 

प्रदेश सरकारले गरेको लगानी व्यर्थ गएसँगै चालु आव २०८२/८३ मा अनुदान रोकेर होमस्टेको स्तरीकरण र गे्रडिङ गर्न जुटेको पोखरेलले बताउनुभयो । उहाँले प्रदेश सरकारको अनुदान रोकेर अगाडि बढाएको योजनाले होमस्टे पहिचान गर्न सहयोग पुग्ने र क्रियाशील बनाउन सहज हुने बताउनुभयो ।  आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले होमस्टे सञ्चालनमा ल्याउँदा भएको सम्झौता अनुसार सडक, खानेपानी, बिजुली, इन्टरनेट जस्ता आधारभूत सुविधाको अभाव, प्रचारप्रसारको कमी, व्यावसायिक सिपको अभाव, नयाँ पुस्ताको विदेश मोह, स्थानीय समुदायको पूर्ण सहकार्य र इच्छाशक्ति नहुँदा होमस्टे बन्द भएको बताउनुभयो । 

ग्रामीण संस्कृति र खानेकुरा हराउँदै जानु तथा बजारको खानेकुरा खुवाउँदा होमस्टेमा पर्यटकको आकर्षण घटेको र बन्द हुन पुगको पौडेलको भनाइ छ ।