–आरोन र्यान्डल
पार्किन्सन रोगले ग्रसित बक्सिङका हस्ती मोहम्मद अलीले सद्दाम हुसेनसँग अनौपचारिक रूपमा भेट गरी १५ अमेरिकी बन्धक रिहा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
बक्सिङ खेलका हस्ती, पप संस्कृतिका मेगास्टार, नागरिक अधिकारका हिमायती र बन्धक मामिलाका वार्ताकार– मोहम्मद अलीको पहिचान यतिमै सीमित छैन । रिङभित्र आफ्नो तेजस्वी उपस्थिति तथा त्यसबाहिर लोकोपकारी र सामाजिक न्यायका अभियन्ता अली अमेरिकाको एक महान् र यशस्वी खेलाडी पनि थिए ।
अलीको नागरिक जीवन सक्रियता र सुप्रसिद्धिले भरिपूर्ण रह्यो । अलीलाई दुई पटक साङ्गीतिक क्षेत्रको ग्रामी पुरस्कारका लागि मनोनीत गरिएको थियो र आफ्नो साङ्गीतिक खुबीले उनी एक समय ब्रोडवेका स्टारसमेत भए । तथापि यस विषयमा दशकौँपहिले चर्चा नभएको होइन तर धेरै कम मानिसलाई थाहा छ अन्य देशमा अलीको अव्यावसायिक तथा धेरै हदसम्म अनौपचारिक तवरमा अमेरिकी दूतको भूमिका उनको विरासतको एक महत्वपूर्ण कडीका
रूपमा रहेको छ । सन् १९९० मा इराक भ्रमणसँगै अलीको यो भूमिकाको विकास हुन गयो । जहाँ उनले इराकद्वारा कुवेतमाथि हमला गरिँदा बन्धक बनाइएका १५ जना अमेरिकीको मुक्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरे, जुन भूमिका सतहमा देखिएको थिएन ।
जिम्मी कार्टरले अलीलाई रोजे
इराकमा अनौपचारिक दूतको भूमिकाका रूपमा अलीको पहिलो प्रयास थिएन । अफगानिस्तानमा तत्कालीन सोभियत सङ्घद्वारा गरिएको हमलाको विरोधमा मास्को ग्रीष्मकालीन ओलम्पिक बहिष्कारार्थ अफ्रिकामा समर्थन जुटाउन सन् १९८० मा राष्ट्रपति जिम्मी कार्टरले अलीको सहयोग लिएका थिए । त्यतिबेला अलीले तान्जानिया, केन्या, नाइजेरिया, लाइबेरिया र सेनेगलको भ्रमण गरेर मास्को ओलम्पिक बहिष्कार गर्ने अमेरिकी नीतिमा समर्थन जुटाउने प्रयन्त गरे ।
‘मोहम्मद अली : द मेकिङ अफ एन आइकन’ का लेखक माइकल एज्राले लेखका छन्, “अलीको अफ्रिका भ्रमणको प्रभाव कत्तिको प¥यो भन्न कठिन छ तर मननीय कुरा के छ भने केन्या र लाइबेरियाले अमेरिकी बहिष्कारमा समर्थन जनाए ।” लाइबेरियाले उद्घाटन समारोहमा उपस्थिति जनाएपछि प्रतियोगिता त्याग गरेको थियो । केन्याले आफ्नो टोली नै पठाएन ।
साथै सम्भवतः अमेरिकाका उच्च तहका एक मुसलमान अलीले सन् १९८५ मा बेरुत भ्रमणमा गएर कथित रूपमा ‘इस्लामिक होली ग्रुप’ द्वारा अपहृत चार अमेरिकी र साउदी अरबका एक जना कूटनीतिज्ञको अवस्था पत्ता लगाउने कोसिस गरे । अलीले सिया मुसलमानका धार्मिक गुरुसँगसमेत भेटेर कुराकानी गरेका थिए तर उनले अपहृतहरू कहाँ छन् समेत थाहा नपाएर फर्कनु प¥यो ।
सन् १९९० मा इराकद्वारा मानिस बन्धक बनाइए
सन् १९९० अगस्तमा सद्दाम हुसेनको इराकी सैन्य बलले आकारमा सानो छिमेकी कुवेतमाथि हमला गरेको थियो । हुसेनले सौदाबाजी गर्ने कुत्सित उद्देश्य राखेर इराक र कुवेतमा बसोबास गरिरहेका सयौँ अमेरिकीसहित हजारौँ अन्तर्राष्ट्रिय बासिन्दालाई बन्धक बनाए । अन्तर्राष्ट्रिय सैन्य बलले बम वर्षा गर्न नसकोस् र नागरिकले हताहतको जोखिम नउठाऊन् भनी बन्धकलाई मानव ढालका रूपमा प्रयोग गरी कुवेत र इराकका रणनीतिक स्थलमा लगेर राखिएको थियो ।
अमेरिकी कूटनीतिज्ञहरूले बन्धकलाई मुक्त गराउन धेरै सङ्घर्ष गरे तर असफल रहे । न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार महिनौँसम्म ‘कपाल फुलेका वरिष्ठ राजनेता, जनप्रचारका भोगी राजनीतिज्ञहरू तथा हतास महिला र बालबालिका’ ले हुसेनको फन्दाबाट बन्धकहरू मुक्त हुने आशा गरी इराकको भ्रमण गरेका थिए ।
इराकमा अमेरिकालाई अलीको सहयोग
अलीले बक्सिङ रिङमा नउत्रेको सन् १९९० सम्म करिब एक दशक भइसकेको थियो । सन् १९८१ मा ट्रेभर बार्बिकविरुद्ध रिङमा पुनरागमन गरी भिड्दा नमिठो नतिजा बेहोरेर आइन्दा जनसेवामा तल्लीन रहने भन्दै अलीले खेलबाट बिदा लिएका थिए । कुनैबेला निकै सक्रिय रहने, मिजासिला र गफी अली ४८ वर्ष लाग्दासम्म शारीरिक रूपमा कमजोर देखिन थाले । उनको बोली लरबराउन तथा पार्किन्सन रोग लागेको छ वर्षमै उनलाई बिनासहारा हिँडडुल गर्नसमेत कठिन हुन थाल्यो ।
शरीर निर्बल भए पनि शान्ति र नागरिक असन्तुष्टिका आवाज बुलन्द पार्ने अलीको बोली सशक्त नै रह्यो । सन् १९६७ मा भियतनाम युद्धका लागि अमेरिकी सेनामा आबद्ध नहुने अडान तथा त्यसलगत्तै सेनामा भर्ती नभएकोमा दोषी ठह¥याइएर बक्सिङ खेल्नमा प्रतिबिन्धत गरिँदासमेत टसमस नभएका अली यी कदमले आफ्ना मूल्य मान्यतामा अडिग रहने व्यक्तित्वका रूपमा स्थापित भएका थिए । अमेरिकाको सर्वोच्च अदालतले अन्ततः उनीमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको थियो ।
साथै धर्मान्तरण तथा इस्लाम धर्म र इस्लामिक राज्यप्रति आफ्नो अगाध आस्थाबाट अली विश्वमा इस्लाम धर्मावलम्बीमाझ एक सम्मानित व्यक्तित्व हुन पुगे । रोगले ग्रसित भए पनि अलीले आफ्नो जीवनमा नयाँ लक्ष्य निर्धारण गरे ः पश्चिमा देश र इस्लामिक देशबीच शान्ति र भाइचारा विस्तार गर्ने । अलीका पूर्वव्यवसाय प्रबन्धक जिन किलरोयले सन् २०१४ मा सार्वजनिक गरिएको डकुमेन्ट्री ‘आई एम अली’ मा यो कुरा खुलासा गरेका छन् । यस्तो भावनाले ओतप्रोत अलीले स्वयंसेवीका रूपमा इराक जान चाहे । अमेरिकी बन्धकको फिर्ती तथा फारसको खाडीमा उत्पन्न सङ्कटको शान्तिपूर्ण समाधानका लागि कुराकानी गर्ने उनले त्यतिबेला भनेका थिए । लेखक थोमस हाउजरले आफ्नो पुस्तक ‘मोहम्मद अली : हिज लाइफ एन्ड टाइम्स’ मा लेखेका छन्, अलीका लागि ‘उचित कारण छ भने कुनै पनि यात्रा लामो हुँदैन ।’
इराक जाने अलीको योजनामा चिसो प्रतिक्रिया
अलीको योजनालाई सकारात्मक रूपमा लिइएन । “आमसञ्चार माध्यमहरूले उनको तिरस्कार र उपहास गरे,” सो भ्रमणका आयोजकमध्येका एक ब्रायन बेकरले यसो लेखेका छन् । न्युयोर्क टाइम्सको कुरा नै गरौँ, अमेरिकी बन्धकलाई मुक्त गराउन सहयोग गर्न अलीले बनाएको योजनालाई उसले यसरी टिप्पणी गरेको थियो, “हालैका दिनमा विचित्रको बन्धक मुक्ति अभियान ।” यस्तो लेख्दा पत्रिकाले अलीको स्पष्ट बोल्न नसक्ने अवस्थाका बारेमा समेत चर्चा गरेको थियो ।
जीवनी लेखक माइकल एज्राले लेखेका छन्, अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुसको आपत्ति भए पनि सन् १९९० नोभेम्बर २३ मा अली एक नागरिक दूतका रूपमा बगदाद पुगे । आधिकारिक रूपमा सरकारको सहयोग थिएन तर मध्यपूर्वमा अमेरिकी हस्तक्षेप रोक्न सक्रिय गठबन्धनद्वारा अलीको अभियान आयोजित थियो । जो अमेरिकाका पूर्वमहान्यायाधिवक्ता रामसे क्लार्कबाट सहयोग प्राप्त गरी स्थानीयस्तरमा शान्तिका लागि काम गरिरहेका सामुदायिक सङ्गठनको सञ्जालका रूपमा चिनिन्थ्यो ।
बेकरले लेखेका छन्, “अमेरिकी सरकारको अवज्ञा गरी अली इराक गएका थिए, उसका तर्फबाट होइन ।”
अलीले सद्दामको प्रतीक्षा गरे, अन्नतः भेट भयो
बगदाद पुगेर अलीले सद्दामसँग भेट गर्ने इच्छा जनाए तर उनले अलीलाई प्रतीक्षा गराए । यस्तोमा समय व्यतीत गर्नका लागि अलीले त्यही काम गरे जो सामान्यता गरिन्छ ः उनी सडकमा निस्किए र आफ्ना समर्थकमाझ पुगे । बगदादनजिकका बस्तीमा गएर विद्यालय, मस्जिदको भ्रमण गरे । अलीको घुमफिर हप्तादिन चलिरह्यो र उनले विरोध देख्नु परेन । उनीसँग पार्किन्सनको औषधि सकियो तथा उनलाई बोल्न र हिँडडुल गर्न कठिन हुन थाल्यो ।
सन् १९९० नोभेम्बर २९ मा सद्दामसँग अन्ततः अलीको भेट भयो । सञ्चारकर्मीको उपस्थिति रहेको यस भेटमा सद्दामले आफ्ना अमेरिकी पाहुनालाई इराकीहरूले कति राम्रोसँग बसोबासको व्यवस्था र व्यवहार गरिरहेको कुरा अलीलाई सुनाए ।
त्यसपछि अलीले आफू स्वदेश फर्कंदा अमेरिकीलाई इराकको एक सच्चा र सकारात्मक वृत्तान्त लिएर जाने जुन वाचा गरे त्यसले वास्तवमा अचम्मसँग सद्दामको मन पगाल्यो । अनि सद्दामले भने, “अमेरिकी नागरिकलाई साथै नपठाई मैले मोहम्मद अलीलाई रित्तै अमेरिका फर्काउने छैन ।”
सन् १९९० डिसेम्बरमा अली अमेरिका फर्किए । उनका साथमा १५ जना पूर्वबन्धक अमेरिकी पनि थिए ।
अली र बन्धक फरक विमानबाट फर्किए
मुक्त गरिएका धेरैजसो अमेरिकी बन्धक विदेश मन्त्रालयको चार्टर विमानबाट अमेरिका ल्याइए । एक आधिकारिक दूत नभएका कारण अलीले व्यावसायिक विमानबाट अमेरिका फर्किनु परेको थियो ।
अलीले भलै १५ जना बन्धकलाई मुक्त गराउनमा सफलता पाएका हुन् तर आफ्नो भ्रमणद्वारा मध्यपूर्वमा शान्ति बहाल गर्ने उनको स्पष्ट विचार सार्थक हुन सकेन । अली र बन्धकहरू अमेरिका फर्किएको करिब छ हप्तापछि नै पहिलो खाडी युद्ध सुरु भयो । अली कूटनीतिज्ञ थिएनन् तर उनको भूराजनीतिक प्रवीणता अतुलनीय थियो ।
हिस्ट्रीबाट उमेश ओझाद्वारा अनुवादित तथा सम्पादित
–युवामञ्च