• १२ भदौ २०८२, बिहिबार

बादलुको दरबारमा पहाडको मेला...

blog

सन् १९४९ मे १५ मा दार्जिलिङमा जन्मेका नरदेन रुम्बा अत्यन्त छोटो बचाइमा सिर्जनामा अमरत्व छाड्ने स्रष्टा हुन् । माथि उल्लेखित बेहोरा भएको कवितामार्फत सन् १९७९ मा धुवाँ पत्रिकामा प्रकाशित प्रथम कविताबाट भारतीय नेपाली साहित्यको गीत र कविता विधामा युगान्तकारी छाप छाड्न सफल रुम्बा ४१ वर्ष मात्र बाँचे भौतिक रूपमा । अझ यो अवधिमा पनि उनको आधाउधी उमेर नै त सिर्जनात्मक हुँदो हो । 

विद्यालयीय शिक्षा टर्नबुल हाइस्कुल र स्नातक तहको अध्ययन दार्जिलिङकै नर्थ प्वाइन्ट कलेजबाट गरेका रुम्बा आजीविकाका लागि भारतीय स्टेट बैँकमा कार्यरत रहे । सकलमान रुम्बा र हर्कमाया रुम्बाका सुपुत्र नरदेन रुम्बाले आफ्ना गीतिकाव्यकृतिहरूमा प्रकृतिसित गरेका सार्थक संवाद जीवन्त बनेका छन् । 

दार्जिलिङका प्रसिद्ध सङ्गीतकार चन्दन लमजेलले यसरी रुम्बालाई सम्झेका छन्, “मूड चलेपछि नरदेन कागतको चिर्कटो भेटिनासाथ गीत लेखिहाल्थे र हतारहतार मणिकमल क्षेत्री, पुरण गिरी र मलाई सुनाइहाल्थे ।”   

आफ्नो लेखकीय जीवनमा उनले गीत सय जति लेखेका छन् भने नाटक विधामा पनि उनले कलम चलाए । नेपाली रगतले सिञ्चन गरेको भूमिमा आफ्नो पहिचान सङ्कटमा परेपछि आक्राेशित हुँदै उनले लेखे– 

आँखा छ हाम्रो तर देख्छ अरूले 

कलम छ हाम्रो तर लेख्छ अरूले ...

हुन पनि हो नेपाली जातिले नेपालमा मात्र होइन संसारको कुनै पनि भूभागमा आफ्नो निर्णय आफैँले गर्न पाएको छैन । कहिल्यै कसैको औपनिवेशिकताको जन्जालमा नफसेको नेपालमा त हामीले हाम्रो भविष्यको रेखा आफैँ कोर्न नपाएको कुरा उठ्छ भने विदेशी भूमिमा स्वअस्तित्वको चिनारी पाउनु कत्तिको कठिन होला सहजै अनुमान गर्न सकिन्छ । 

भारतले विदेशी ठान्नु र नेपालले प्रवासी ठान्नुको पीडा अम्बर गुरुङ र अगमसिंहहरूको जीवनमा नोस्टाल्जिक बनेर आएको इतिहास साक्षी छ । मृत्युपर्यन्त उनले आफ्नो मेटिएको पहिचान, हराएको सिमाना, ओझेल पारिएको जातीय इतिहास र विद्रोहको अभिलेखीकरण आफ्ना कविता र गीतमा गरिरहे ।   

जीवनका हरेक भावको अभिव्यक्ति गीत र कवितामार्फत उमार्ने क्षमता राख्ने रुम्बा मनको बह, मायामोह, प्रेमवेदना, भक्ति र विद्रोहलाई आफ्ना सिर्जनामा सार्वजनिक गर्थे । कुनै बेला नेपाली साहित्य र सङ्गीतको दोस्रो राजधानी मानिएको दार्जिलिङका अरुणा लामा, पेमा लामा, विमला सेन्चुरी, चन्दन लमजेल तथा मणिकमल क्षेत्रीको सान्निध्यले उनका गीतले निर्विवाद रूपमा न्याय पाए । 

अगमसिंह गिरी र गोपाल योन्जनपछिको त्यो क्षेत्रको गीत लेखनलाई जुरुक्क उचाल्ने गीतकारका रूपमा नरदेनलाई लिन सकिने मत राख्छन् सङ्गीतकार मणिकमल क्षेत्री । अल्पायुमै बित्नु र व्यस्ततापूर्ण जागिरे जिन्दगी बाँच्नुको नियतिले गर्दा अगमसिंह गिरी, हरिभक्त कटुवाल तथा गोपाल योन्जनको जस्तो सार्थक र विराट् परिचय पाउन सकेनन् नरदेनले तर त्यो भूमिमा अन्यभन्दा कम क्षमता रुम्बाको मापन गरिए उनलाई निर्विवाद रूपमा अन्याय हुन जान्छ ।      

नारायणगोपाल, दुर्गा खरेल, मीरा राणा, कर्म योन्जन, डेजी बराइली, कुमार सुब्बा, पवन गोले, दावा ग्याल्मो देवान तथा नयाँ पुस्ताका अनुपमा प्रधान आदिले नरदेनका गीतमा उन्नत स्वर भरेका छन् । तेस्रो आयामका तीन हस्तीमध्ये दुई कवि वैरागी काइँला र ईश्वर वल्लभपछिका युगद्रष्टा कविका रूपमा रुम्बालाई लिन सकिन्छ । राजनीतिक र जातीय अभियन्ताको परिचय पनि उनलाई प्राप्त छ । 

सन् १९७८ मा प्रक्षेप नामक गीत र कवितासङ्ग्रह प्रकाशित भयो भने बाँकी रचनाको एकत्रित रूप उनले आफ्नो जीवनकालमा देख्न पाएनन् । उनको महाप्रस्थानपश्चात् मात्र सन् १९९६ मा उनकी जीवनसँगिनी साबी रुम्बाको पहलमा नरदेन रुम्बाका कृति सार्वजनिक हुन पुगे । 

उनले कुनै बेला भनेका थिए, “मैले मेरो छोराका लागि नसोचे पनि मेरा कविताले हजारौँ छोराका लागि सोच्छन् ।” साङ्गीतिक भाषामा ‘लिरिकल फ्लो’ रहेको उनका गीत माटोमा नाङ्गा पैतलाका डोब हुन् भने आफ्नो पहिचानका लागि सङ्घर्षरत निधारमा नाम्लोका डोब हुन् । धनञ्जय थापाको सङ्गीतमा सूर्य थुलुङको स्वर रहेको नरदेनको पहिलो गीत बादलुको दरबारमा पहाडको मेला... रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा शब्द, सङ्गीत र स्वर सबैमा सर्वप्रथम हुनुले पनि उनको गीति रचनाधर्मिता पुष्टि गर्दछ ।

गीत छनोटमा कुनै सम्झौता नगर्ने स्वरसम्राट नारायणगोपालले समेत गीतकारका रूपमा उनलाई उच्च मूल्याङ्कन गरेका छन् । प्रताप सुब्बाद्वारा निर्देशित चलचित्र ‘बाँच्न चाहनेहरू’ र ‘कहीँ अँध्यारो कहीँ उज्यालो’ का समग्र गीत रुम्बाकै रहेका छन्  । ती  सिनेमा नेपालमा नचलेकाले उनको परिचय यहाँ आमरूपमा स्थापित हुन सकेन । 

हामीले आकाश मागेका होइनौँ 

हामीले बास मागेका होइनौँ

हामीले छातीले पेलेर बनाएका ढुङ्गा र माटोहरू मागेको हो 

हामीले हाम्रो आँसु मागेको हो 

हाम्रा बावुबाजेको करङ र मासु मागेको हो ....

हावा, प्रकृति, फूल र मानव नियतिसित वार्ता गर्ने सामथ्र्य बोक्ने उनका गीतले आफ्ना पुर्खाका करङको मूल्य खोजेका छन् भने आफ्नो आँसुको सामथ्र्य खोजेका छन् । त्यहाँको कागझोडामा रहेको तीनतले घरको तेस्रो तल्लामा बस्ने रम्बा फुर्सदको समयमा हार्मोनियमका रिडमा खेल्दै धुन उरालिरहन्थे ।

सन् १९७२ मा त्यहाँको गोरखा दुःख निवारक सम्मेलनले आयोजना गरेको विराट् नेपाली साहित्य सेमिनारमा उनको काव्यिक परिचय समग्र नेपाली साहित्य संसारले पाएको थियो । हिजो जस्तै अँध्यारो बिहान शीर्षकको कविता उनले ईश्वर वल्लभसँगै वाचन गरेपछि उनको परिचय मेचीवारि पनि प्राप्त भयो (प्रधान, शरद, स्मृतिविम्ब, साहित्यपोस्ट, २०७९ पृष्ठ १५९) । समयक्रममा त्यो कविता मनबहादुर मुखियाले सम्पादन गरेको सेमिनार नामक समसामयिक सङ्कलनमा छापिएको थियो ।  स्वगत कथन र मुक्त लयविधानमा उनले अधिकांश गीत रचना गरेका छन् । देशभक्ति, जातीय भक्तिदेखि लिएर प्रेमविरह, जातीय चिनारीदेखि लिएर कतिपय अवस्थामा आध्यात्मिक चिन्तन पनि उनका गीतमा पाइन्छ । 

यस अर्थमा उनी गीत लेखनमा विविधता ग्रहण गर्न सक्ने गीतकारका रूपमा चिनिन्छन् । फूललाई सोधेँ कहाँ गयो कता गयो भमरा..., बादलुको दरबारमा पहाडकी रानी..., हामीले आकाश मागेको होइनौँ..., लगाई हेर त्यो ढाकाटोपी... तथा आऊ बस नजिकमा... जस्ता गीतले एक जमानामा नेपाल र भारतको दार्जिलिङमा तहल्का मच्चाएको इतिहास साक्षी छ । आज पनि कर्म योन्जन सम्झिन्छन्, “फूललाई सोधेँ कहाँ गयो कता गयो भमरा... कम्पोज गर्दाको सन्तुष्टि अतुलनीय छ र यसको कम्पोजिसनमा कुनै शब्दलाई पनि चलाउनु परेको थिएन ।”

बद्री दुर्गा खरेल, चन्दन लमजेल, शान्ति ठटाल, धनञ्जय थापा तथा कर्म योन्जनको सङ्गीत कम्पोजिसनमा रहेका रुम्बाका गीतमाथि न्याय गर्दै कुटुम्ब ब्यान्डका अमृत गुरुङले ‘मेरो देश’ नामक एल्बम नै तयार गरे । राष्ट्रियता र जातीय चिनारीले ओतप्रोत उनका कवितामा साङ्गीतिक प्रस्तुति सफल र सार्थक रहेको छ । 

रेडियो नेपालमा उनका गीत रेकर्ड हुँदा केही शब्द र अन्तरामाथि सेन्सरको कैँची चलेको उनका सहकर्मी दुर्गा खरेल सम्झिन्छन् । रुम्बाको नाटक मृगतृष्णाले एक पटक दार्जिलिङको रङ्गमञ्चमा ठूलो तहल्का मच्चाएको थियो । जसका सबै गीत नरदेनकै थिए । म मरेपछि नाटक मञ्चनका क्रममा दुर्गा खरेलको सहयात्रा उनीसित सुरु भएको हो र त्यो निरन्तर रह्यो । 

मेरा सबै रातहरू मातहरू भए... बोलको गीत चन्दनको सङ्गीत र नारायणगोपालको स्वरमा रेकर्ड भयो तर दुःखको कुरा त्यसपछि रुम्बा र नारायण दुवै अनन्त यात्रामा लिन भए । अब चन्दन मात्र बाँकी छन् । सन् १९७१ मा हाम्रो सानो पत्रिका नामक समसामयिक सङ्कलनको सम्पादन पनि रुम्बाले गरेका थिए । यो उनको परिचयको अर्को पाटो । 

चन्दनकै सङ्गीतमा नेपथ्य ब्यान्डको प्रस्तुति ‘कसैले सोधे कुन हो तिम्रो ठाउँ...’ बोलको गीत अर्को उनको जातीय पहिचान बोकेको गीत हो । यहाँ जातीयभन्दा कुनै जात विशेष नबुझेर समग्र नेपाली जाति बुझ्नुपर्ने हुन्छ । स्केल, नोटेसन तथा मेजर माइनरका पूर्ण ज्ञाता रुम्बा आफैँ पनि कम्पोजिसन गर्ने हैसियत राख्थे तर उनले धनञ्जय थापा, चन्दन लमजेल, मणिकमल क्षेत्री, बद्री दुर्गा खरेललाई नै सङ्गीतकारका रूपमा रोजे । 

अङ्ग्रेजी भाषामा पनि राम्रो दखल रहेका रुम्बा उत्कृष्ट साहित्यिक भावानुवादकर्ता पनि थिए । उनका गीतमा रिमला मोक्तान, कुन्दनराज सुब्बा तथा उदय सोताङ आदिले थप स्वर दिए भने सङ्गीत टासी वाङचुकले । मिटरमा लेखिएको फूललाई सोधेँ कहाँ गयो कता गयो भमरा... गीतको फरम्याटिङ, अभिव्यक्ति, भावपूर्ण लय, मानवीय आस्था र अर्थपूर्ण शब्द चयनलाई आज पनि हरेक गीति सिद्धान्तकारले संवेदनाले कुदेको गीत भनी व्याख्या गरेका छन् । औरा, पहाडकी रानी तथा निष्ठुरी जस्ता गीतिएल्बम उनका निस्किए भने समयक्रममा उनको कवि व्यक्तित्वमाथि गीतकार व्यक्तित्वले दबाब दिएको समालोचकको मूल्याङ्कन रहेको छ । 

जीवित अवस्थामा नै आफैँले सम्पादन गरेको कवितासङ्ग्रहको पाण्डुलिपि भित्तेचित्रले प्रकाशनको सूर्योदय देख्न पाएन तर अघि नै उल्लेख भइसकेको छ मृत्युपर्यन्त उनकी जीवनसँगिनी साबी रुम्बाले सङ्कलन र सम्पादन गरेको नरदेन रुम्बाका कृतिमा कविताहरू सङ्गृहीत छन् ।   

–युवामञ्च

Author

कमल सुवेदी